NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

दशैँ सम्झाउने यी सदावहार गीत

काठमाडौं । हिन्दू धर्मावलम्बीहरूको महान चाड दशैँको माहोल शहरदेखि गाउँघरसम्म छाइसकेको छ । दशैँ सुरु भएपछि विशेष सम्झना दिलाउने गीतको धुनले पनि विशेष महत्व राख्छ । दशैँका केही यस्ता गीत छन् जुन गुञ्जिएसँगै दशैको रौनक थप बढ्छ । हरेक वर्ष दशैं लाग्नासाथै बजारमा थुप्रै नयाँ – नयाँ गीत आउने गर्छन् । तर जति पुरानो गीतले दशैंको महसुस गराउँछ त्यति त्यो स्थान अझै पनि नयाँ गीतले राखेको पाइदैन । अझैपनि गाउँघरदेखि शहरसम्म ती पुराना गीत नै नेपालीको रोजाइमा पर्छन् ।

यी हुन् सदावहार दशैँ गीत

१) दशैँ आयो

दशैंको समय ‘दशैँ आयो’ यो गीतले निकै लोकप्रियता पाउँछ । नेपाली चलचित्र ‘मुग्लान’को यो गीत दशैँको बेला सबैतिर बज्ने गर्छ । यो गीतलाई उदितनारायण झा, दीपा झा, नारायण लामा र जुना प्रसाईँले गाएका हुन् ।

गीतमा दीलिप रायमाझी, विपना थापा, रमित ढुंगाना, झरना थापा, सुशील क्षेत्रीलगायतले अभिनय गरेका छन् ।

गीतमा संगीत सुरेश अधिकारीले भरेका हुन् । यो गीत लोकनाथ सापकोटाले लेखेका हुन् । यो गीतलाई विशेषगरी विदेशिएका नेपालीले मनपराउने गरेका छन् ।

२) दशैँ–तिहार

रवि क्षेष्ठको शब्द रहेको ‘दशैँ–तिहार’ गीतलाई सुगम पाेखरेलले गाएका हुन् । यसमा संगीत भर्ने काम र अभिनय गर्ने काम पनि उनैले गरेका छन् ।
दशैँ–तिहार गीत सर्वाधिक सुनिने गीतमा पर्छ । गीतले दशैँ–तिहारको रमाइलो पक्षलाई देखाएको छ ।

३) फूलपाती भाकेर मनकामना

नेपाली चलचित्र ‘भरोसा’को ‘फूलपाती भाकेर मनकामना’गीत पनि दशैँको समय निकै रुचाइने गीत हो । उदितनारायण झा र भारतीय गायिका साधना सरगमले गाएको गीतमा स्व। श्रीकृष्ण श्रेष्ठ, दीलिप रायमाझी, अरुणिमा लम्साल, उषा पौडेल र नन्दिता केसीलगायले अभिनय गरेका छन् ।

यो गीत पनि सदावहार दशैँ गीतमा पर्छ ।

४) नमुछे आमा दहीमा टीका

कृष्णभक्त राई र लक्ष्मी न्यौपानेको स्वरमा रहेको ‘नमुछे आमा दहीमा टीका’ गीतले दशैँमा घर जान नपाएका परदेशीको पीडा बालेको छ । गीतमा संगीत नारायण माझीले दिएका हुन् । यो गीत पनि दशैँको बेला घरदैलोमा बज्ने गीतमध्ये एक हो ।