NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

सरकारी अस्पतालबाट दशैंमा बिरामीले के–के पाउँछन् सेवा ?

काठमाडौं । दसैँको बिदामा ठूला सरकारी अस्पतालले अत्यावश्यकबाहेकका उपचार सेवा ठप्प पार्ने भएका छन् । ४ कात्तिकदेखि टीकाको भोलिपल्ट ८ कात्तिकसम्म (पाँच दिन) सबै सरकारी अस्पतालले अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने भएका हुन् ।

दसैँका वेला बिरामीको चाप कम हुने र स्वास्थ्यकर्मी पनि बिदामा बस्ने भएकाले उपचार सेवा खुम्च्याइएको हो । वीर अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेलले शुक्रबारदेखि दसैँ बिदा हुने भएकाले अत्यावश्यकबाहेकका उपचार सेवा पनि बन्द गरिने जानकारी दिए । ‘ओपिडी र नियमित सेवा टीकाको भोलिपल्टसम्म बन्द हुन्छन्, तर अत्यावश्यक उपचार सेवा बन्द गर्दैनौँ,’ उनले भने, ‘त्यसका लागि केही स्वास्थ्यकर्मी अस्पतालमा खट्नुहुन्छ ।’ उनले डायलाइसिस, आइसियू, इमर्जेन्सी र गम्भीर रोगका बिरामीले दसैँका वेलामा अन्य समयमा भन्दा प्रभावकारी सेवा पाउने बताए । दसैँका वेला बिरामीको चाप र भिड कम हुने भएकाले पनि दिइएका अत्यावश्यक सेवा प्रभावकारी हुने उनको भनाइ छ ।

दसैँका वेला अस्पतालमा बिरामीको चाप कम हुन्छ । अधिकांश स्वास्थ्यकर्मी दसैँ मनाउन बिदा बस्छन् । चाडबाडका वेला बिरामीको संख्या कम हुने कारण देखाउँदै अस्पतालहरूले हरेक वर्ष नियमित र ओपिडी सेवा बन्द गर्दै आइरहेका छन् ।

वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, टेकु अस्पताल, निजामती अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, केएमसी अस्पताल, गंगालाल अस्पताललगायतमा पनि दसैँका वेला ओपिडी सेवा ठप्प हुनेछन् । भर्ना भइसकेका र इमर्जेन्सीमा आउने बिरामीलाई भने यी अस्पतालले आकस्मिक उपचार सेवा प्रवाह गर्नेछन् । यसबाहेक अप्रेसन गर्नुपर्ने र तत्काल उपचार गर्नुपर्ने बिरामीले भने निरन्तर उपचार सेवा पाइरहनेछ ।

वीर अस्पतालमा अन्य समयमा दैनिक एक हजार पाँच बिरामी ओपिडी कक्षका उपचारका लागि आउँछन् । त्रिवि शिक्षण अस्पतालमा दैनिक एक हजार एक सय हाराहारी बिरामी आउँछन् । तर, यो संख्या घटस्थापनाको दिनदेखि कम हुँदै गइरहेको छ । अस्पतालहरूले दसैँका वेला बिरामीको संख्या पनि कम हुने भएकाले स्वास्थ्यकर्मीलाई पनि बिदा दिने गरेका छन् । तर, तत्काल अप्रेसन गर्नुपर्ने र दसैँअघि नै भर्ना भइसकेका अप्रेसन गर्नुपर्ने बिरामीको उपचार सेवा भने रोकिनेछैन ।

आकस्मिक सेवा र एम्बुलेन्स सेवा २४सै घन्टा उपलब्ध

दसैँका वेला सरकारी अस्पतालले ओपिडी सेवा बन्द गरे पनि आकस्मिक सेवा भने सञ्चालन नै गर्दै आएका छन् । यसबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पताललाई परिपत्र गरिसकेको छ । परिपत्रमा गम्भीर प्रकारका उपचार सेवा प्रभावित नपार्न पनि निर्देशन दिएको छ । मन्त्रालयले पालो मिलाएर अस्पतालका कर्मचारीलाई बिदा बस्न आग्रह गरेको छ । पालो मिलाउँदा दसैैँका वेला बिदा बसेकाहरू तिहारका वेला खट्ने गर्छन् ।

घटस्थापनयता उपत्यकाका सरकारी अस्पतालमा बिरामीको संख्या घट्न थालेको छ । यो संख्या फूलपातीसम्म क्रमशः घट्दै जानेछ । आकस्मिक सेवाबाहेकका बिरामीको संख्या कम हुँदैै गएको अस्पतालले जनाएका छन् । बिहीबार त्रिवि शिक्षण अस्पतालमा सात सय ५०, वीर अस्पतालमा एक हजार दुई सय, निजामती अस्पतालमा पाँच सय, पाटन अस्पतालमा ८ सय, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा तीन सय हाराहारीले ओपिडी सेवा लिएका थिए । ओपिडीमा आउने बिरामीको संख्या घटस्थापनादेखि कम हुँदै आइरहेको छ ।

डायलाइसिस र अन्य गम्भीर रोगका बिरामीले दसैँका वेला उपचार सेवा सहजै पाउने भएका छन् । उनीहरूको तालिकाअनुसार नै डायलाइसिस सेवा प्रदान गरिनेछ भने अन्य गम्भीर र इमर्जेन्सीमा आउने बिरामीको उपचारको समस्या नहुने अस्पतालहरूले जनाएका छन् । निजामती अस्पतालका निर्देशक डा. विधाननिधि पौडेलले दसैँका वेला अत्यावश्यक उपचार सेवा सहजै पाइने बताए । ‘गम्भीर र इमर्जेन्सीमा आउने बिरामीले सहजै उपचार सेवा पाउनुहुन्छ,’ उनले भने, ‘तर, नियमित र ओपिडी सेवा चार दिन बन्द हुन्छ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।