NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधि यूएईलाई

काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधि युएईले जितेको छ ।

नेपाललाई ४ विकेटले पराजित गर्दै यूएईले त्रिकोणात्मक सिरिज जितेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १ सय ६३ रनको लक्ष्य पाएको युएइले अन्तिम ओभरको दोस्रो बलमा लक्ष्य पुरा गर्यो ।

टस हारेर ब्याटीङमा उत्रेको नेपालले एक सय ६३ रनको लक्ष्य दिएको थियो । यूएईले १९.५ ओभरमा ६ विकेट गुमाएर एक सय ६७ रन बनाउँदै विजय लक्ष्य पार गरेको हो ।

यूएईको जितमा कप्तान मुहम्मद वसिमले ४५ रनको योगदान गरे । वृत्य अरविन्दले २६ रन बनाए । अर्का ओपनर आर्यान्श शर्माले पनि टोलीका लागि २५ रनको योगदान गरे । वासिल हमिदले अविजित २२ र आयान अफजल खानले अविजित पाँच रन बनाए ।

नेपाली टोलीका बलर गुल्सन झा र अविनाश बोहराले दुई—दुई विकेट लिए । कुशल मल्लले पनि एक विकेट हात पारे ।

त्यसअघि खेलको आक्रामक सुरुआत गरेको नेपालले समाप्ती भने सुस्त बनायो । नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धसतक बनाएर आउट हुँदा करण केसी २३ रन बनाउँदै अविजित रहे ।

भुर्तेलले २८ बलमा ५० रन बनाएका थिए भने करणले १७ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काए । अविनाश बोहरा शून्य रनमा अविजित रहे ।

ओपनर ब्याट्सम्यान आसिफ शेख १२ बलमा एक चौकाको मद्दतले सात रन बनाउँदै आउट भए । उनलाई युएईका बलर आयान अफजल खानले बोल्ड गरेका थिए ।

नेपालको दोस्रो विकेटका रूपमा कुशल मल्ल पेभेलियन फर्किएका थिए । उनी दुई बलको सामना गरी एक रन बनाउँदै आउट भएका थिए ।

उनलाई पनि युएईका बलर आयान अफजल खानले नै बोल्ड गरेका थिए । नेपालले तेस्रो विकेटका रूपमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । कुशल भुर्तेललाई युएईका बलर जाहुर खानले बोल्ड गरेका हुन् ।

नेपालले चौथो विकेटका रूपमा कप्तान रोहित पौडेललाई गुमाएको थियो । उनी १७ बलको सामना गरी एक चौकाको मद्दतले १८ रन बनाउँदै आउट भएका हुन् । उनलाई युएईका बलर अली नासिरले विकेटकिपर आर्यान्श शर्माद्वारा क्याच गराएका थिए ।

नेपालले पाँचौँ विकेटका रूपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको थियो । उनी १५ बलमा एक छक्का र एक चौकाको मद्दतले २० रन बनाउँदै आउट भएका थिए । उनलाई युएईका बलर अली नासिरले बोल्ड गरेका थिए ।

यसैगरी नेपालले छैटौँ विकेटका रूपमा सन्दीप जोरालाई गुमाएको थियो । उनी १० बलमा एक चौकाको मद्दतले १० रन बनाउँदै आउट भएका थिए ।

नेपालले सातौँ विकेटका रूपमा गुल्सन झा आठ बलमा पाँच रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई युएईका बलर जुनैद सिद्धकीले मुहम्मद वसिमद्वारा क्याच गराएका थिए ।

नेपालले आठौँ विकेटका रूपमा सोमपाल कामीलाई गुमाएको थियो । उनी आठ बलमा दुई चौकाको मद्दतले १३ रन बनाउँदै आउट भएका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष