NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

ईसेवाका पाँच नक्कली कर्मचारी पक्राउ

काठमाडौं । ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गर्ने पाँच जना पक्राउ परेका छन् । १८ जना पीडितहरूबाट १५ लाख २० हजार ९ सय रूपैयाँ बराबरको धनमाल ठगी गरेको अभियोगमा ५ जनालाई रौतहटका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रौतहट गौर नगरपालिका–५ बस्ने २६ वर्षीय नवनित कुमार कुशवाहा, २१ वर्षीय कन्हैया कुमार कुशवाहा, २० वर्षीय अभय कुमार यादव, २१ वर्षीय रितेश कुशवाहा र गढिमाई नगरपालिका–६ बस्ने १९ वर्षीय दिपेन्द्र कुमार यादव रहेका छन् ।

उनीहरूले विभिन्न मोबाइल नम्बरहरुबाट फोन सम्पर्क गरी म ईसेवाको आधिकारिक कर्मचारी हुँ, तपाईको ईसेवा आईडी बैंक खातासँग लिंकअप तथा खाता नविकरणका नाममा ठगी गरेका हुन् । ५० प्रतिशत क्यासब्याक रकम उपलब्ध गराईदिन्छु भनी बिश्वास दिलाई झुक्यानमा पारी पीडितहरुबाट ठगी गरेको प्रहरीले जनाएको छ । बैंक तथा वालेट कम्पनीको कर्मचारी हुँ भनेर फोन गर्दैमा सकैलाई पनि आफ्नो कोड तथा पासवोर्ड नदिन प्रहरीले आग्रह गरेको छ ।