महासचिव गुटेरेस सगरमाथा क्षेत्र जाँदै

काठमाडौं । नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस आज सगरमाथा क्षेत्रको अवलोकन भ्रमण गर्दै दिउँसो पोखरा जाने भएका छन् ।
मौसम अनुकूलताअनुसार उनी आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सगरमाथा क्षेत्रमा जाने र त्यहाँ जलवायु परिवर्तनले दैनिक जीवनमा असर पारेका विषयमा स्थानीय बासिन्दासँग कुराकानी गर्ने जनाइएको छ ।
त्यसपछि ललितपुर पुल्चोकस्थित संयुक्त राष्ट्र सङ्घको कार्यालयमा यहाँको टोलीसँग बैठक गर्ने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । महासचिव गुटेरेस दिउँसो पोखरा भ्रमणका लागि प्रस्थान गर्नेछन् ।
महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्र सङ्घका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिंगर–हाम्दी र संयुक्त राष्ट्र सङ्घका अन्य अधिकारीहरू सहभागी छन् ।
महासचिव गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार बिहान १ बजे यहाँ आइपुगेका हुन् । उनले भ्रमणको पहिलो दिन आइतबार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
साथै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा ९एमाले०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री नारायण प्रकाश साउदसँग महासचिव गुटेरेसको छुट्टाछुट्टै भेटवार्ता भएको थियो । भेटवार्तापछि उनले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको अवलोकन गरेका थिए ।
प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गरेका थिए । यही कात्तिक १४ गते मङ्गलबार अपराह्न ४ बजे उनले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री दाहालको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणमा आएका हुन्। महासचिव गुटेरेस नेपाल भ्रमण सम्पन्न गरी कात्तिक १५ गते (१ नोभेम्बर) काठमाडौंबाट प्रस्थान गर्नेछन् ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया