NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

काभ्रेमा डेंगु संक्रमण बढ्दै 

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा पछिल्ला केही दिनयता डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा छ जनामा सङ्क्रमण देखिएको धुलिखेलस्थित जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

थपिएका सङ्क्रमित चार महिलासहित छ जना बनेपा नगरपालिका पाँचखाल नगरपालिका र रोशी गाउँपालिकाको बासिन्दा रहेको कार्यालयका निमित्त प्रमुख डा अनिता खनालले जानकारी दिइन्। उनका अनुसार अझै केही दिन डेंगु सङ्क्रमण बढेनसक्ने अनुमान गरिएको छ ।

अघिल्ला दुई दिन नौ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । कार्यालयको दैनिक तथ्याङ्कअनुसार कात्तिक महिनाको १२ दिनमा २७ जनामा डेङ्गु सङ्क्रमण देखिएको थियो ।

यस्तै यस आर्थिक वर्षको साउनदेखि हालसम्म जिल्लामा ८९ महिला र ८४ पुरुष गरी एक सय ७३ जनामा डेङ्गु पुष्टि भएको कार्यालयले जनाएको छ । जिल्लामा गत असोज अन्तिम साता पुनः डेङ्गुको सङ्क्रमण देखिएको थियो । जिल्लाको १३ स्थानीय तहमध्ये बेथानचोक गाउँपालिका बाहेक हाल १२वटै स्थानीय तहमा डेङ्गुका सङ्क्रमित पुगेका थिए ।

तीमध्ये सबैभन्दा बढी बनेपा नगरमा ७१ सङ्क्रमित थिए । यस्तै धुलिखेल नगरमा २१, पनौती नगरमा २०, पाँचखाल नगरमा सात, नमोबुद्ध नगरमा २२ जना डेङ्गु सङ्क्रमित थिए ।

मण्डनदेउपुर नगरमा १८, भुम्लु गाउँपालिकामा एक, रोशीमा आठ, तेमालमा दुई, खानीखोलामा एक, महाभारत र चौंँरीदेउराली गाउँपालिकामा एक÷एकजना सङ्क्रमित रहेको कार्यालयले जनाएको छ ।

सङ्क्रमितमध्ये केही विभिन्न अस्पतालमा उपचाररत रहेको जनाइएको छ । जिल्लामा गत आवको अन्त्यसम्म छ सय ८० जना डेङ्गुबाट सङ्क्रमित भएका थिए । डेङ्गुको उच्च जोखिमका रुपमा रहेको काभ्रेपलाञ्चोकमा केही महिनादेखि प्रत्येक शुक्रबार ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको थियो ।

डेङ्गुको उच्च जोखिम रहेको दस जिल्लामध्येमा काभ्रेपलाञ्चोक पनि समावेश छ । लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुको बिरामीलाई एक्कासि उच्च ज्वरो आउने र पाँचदेखि सात दिनसम्म ज्वरो रहने, सहन नसक्नेगरी टाउको दुख्ने, आँखाको नानी तथा पछिल्लो भाग दुख्नुका साथै ढाड, जोर्नी र मांशपेसी दुख्ने, शरीरमा बिमिरा आउने तथा वाकवाकी लाग्ने, पेट दुख्ने, नाक तथा गिँजाबाट रगत बग्ने, शरीरमा रगत जेमेको दाग देखापर्ने तथा बेहास हुने लक्षण देखिन्छ । समयमै उचित उपचार नपाए बिरामीको मृत्युसमेत हुने गर्दछ ।

लामखुट्टेले बसोबास गर्नसक्ने सवारी साधन थगन मर्मत केन्द्र, टायर, पानी जम्ने ठाउँ, खेतबारीमा राखिएको टायर, उद्योग, कलकारखाना, होटेल तथा व्यवसायमा रहने टायर, घर तथा अफिसमा रहने गमला, सजावट सामग्री, मठ-मन्दिरमा रहेका कतराजस्ता पानी जम्ने ठाउँलाई नियमित सरसफाइ गर्न तथा पानी जम्न नदिन सरकारले अपिल गर्दै आएको छ ।