NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

महासचिव गुटेरेसको हस्ताक्षर किर्ते गरी ठगी गर्ने सुरुचि जेल चलान

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको हस्ताक्षर किर्ते गरी ९० जनालाई ठगी गर्ने सुरुचि भुजेल जेल चलान भएकी छिन् । जिल्ला अदालत काठमाडौंले सोमबार उनलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । संयुक्त राष्ट्रसंघमार्फत टर्की पठाउने आश्वासन दिएर उनले पीडितहरूबाट अढाई करोडभन्दा धेरै रकम उठाएकी थिइन् ।

भुजेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गत महिना पक्राउ गरेको थियो । आइतबार जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर भएकोमा अदालतले थुनामा पठाएको हो ।

भूकम्पले क्षतिग्रस्त टर्कीका सहरको पुनर्निर्माणका लागि राष्ट्रसंघमार्फत लैजाने भन्दै सुरुचिलगायतले झुक्याएर ठगी गरेका थिए । महासचिव गुटेरेसले नै हस्ताक्षर गरेको कामको अफर देखाएर उनीहरूले पैसा उठाएका थिए । ९० जना पीडितले दुई करोड ५९ लाख ७९ हजार पाँच सय रुपैयाँ ठगी गरिएको भन्दै सिआइबीमा जाहेरी दिएका थिए । सोही आधारमा अनुसन्धान गरी सरकारी वकिलमार्फत मुद्दा दायर गरिएको सिआइबीका प्रवक्ता एसपी नवराज अधिकारीले बताए । उनलाई सात वर्षसम्म कैद सजायको माग गरी मुद्दा दायर गरिएको थियो ।
प्रहरीले सुरुचिका श्रीमान् विनोद श्रेष्ठ तथा भाइ सुजन भुजेललाई पनि फरार प्रतिवादीका रूपमा मुद्दा दायर गरेको छ । ठगीका मुख्य योजनाकार विनोद भएको प्रहरीले जनाएको छ ।

पीडितहरूले दिएको जोहरीअनुसार युएन टर्कीको लेटरप्याटमा राष्ट्रसंघका महासचिव गुटेरेसले नै हस्ताक्षर गरेको अफरलेटर देखाइएको थियो । सोही पत्रका आधारमा विश्वासमा परेर उनीहरूले पैसा बुझाएका थिए । मासिक एक हजार चार सय डलर तलब हुने र पिआरकोसमेत सम्भावना हुने भन्दै पैसा असुलिएको थियो । एक व्यक्तिले चार लाख रुपैयाँसम्म बुझाएका थिए ।

पैसा बुझाएपछि इभिसासमेत दिएका थिए । तर, त्यो पनि नक्कली भएको खुलेको छ । पछि श्रेष्ठ फरार भएपछि पीडितहरू प्रहरीकोमा पुगेका थिए । धेरै कारोबार सुरुचीको बैंक खातामार्फत भएकाले प्रहरीले उनलाई पक्राउ गरी मुद्दा चलाएको हो । विनोद र सुरुचीले काठमाडौंको चुच्चेपाटीमा जमघट एन्ड बाइट्स रेस्टुरेन्ट चलाउँदै आएका थिए । पीडितहरूलाई त्यहीँ बोलाएर झुटो आश्वासन दिई उनले ठग्दै आएका थिए । सुरुचीले भने सबै लेनदेन श्रीमानले गरेकाले आफूलाई जानकारी नभएको बयान दिएकी थिइन् ।
हामीले यो समाचार नयाँ पत्रिका दैनिकबाट लिएका हौँ ।