NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

मदिरा जस्तो तिम्रो प्रेम

प्रिय्, वास्तवमा प्रेम भनेको जीवनको भावनात्मक शब्द हो । तर यसलाइ शब्दमा परिभाषित गर्न असम्भव छ अनि उचित पनि हुँदैन। जसरी हामीले हावामा उडिरहेका फूलहरुका सुगन्ध देख्न सक्दैनौं अनुभव गर्न सक्छौं । त्यस्तै प्रेम पनि एक भावना हो।

विभिन्न वैज्ञानिक, दार्शनिक, उपन्यासकार,भिक्षु,मनोवैज्ञानिकहरुका अनुसार प्रेमको परिभाषा फरक-फरक रहेको छ। तिमीलाई थाहा नै होला। प्रेम आकाश जस्तै अनन्त छ, जसको कुनै सिमा नै छैन। प्रेमका कुरा हर कोहिले गर्छन तर यसलाइ बुझ्ने कम नै भेटिन्छन।

प्रिय आज म फेरि पनि तिमीलाई दोश्रो पटक पत्र लेख्दै छु। तिम्रो प्रेम मैले बुझ्न सके या सकिन त्यो मलाइ थाहा भएन, किनकी प्रेम त उमेर अनुसार फरक हुँदो रहेछ।तिम्रो प्रेम त मलाइ मदिरा जस्तो लाग्यो। तिम्रो प्रेम मा म लठ्ठ भएँ । अर्धबेहोस भएँ। तिम्रै झ-झल्को मा हराएर दुनियाँ सग बेखबर भए। सोच त के गरिनँ तिम्रो प्रेम पाउँदा ? मदिरा भन्दा पनि कडा हुँदो रैछ नि तिम्रो प्रेम को मात ।

मदिरा त पिउन छोडेपछि लाग्दैन तर तिम्रो प्रेम को मदिरा त एकपटक खाएको थिए अनि अहिले छाडे पछि पनि बारम्बार तिम्रै यादले बल्झाउँदो रहेछ।

सायद प्रेमलाई बन्धन पनि भन्ने गर्छन क्यारे ! त्यसैले होला मलाई तिम्रो प्रेम को बन्दनले बेला बेला मा बल्झाइरहन्छ। अनि अर्को कुरा, प्रेम बन्धन भएर पनि कति प्रिय अनि कति लोभलाग्दो । मान्छे सबै बन्धनबाट उम्कन चाहान्छ तर प्रेमको बन्धनमा बाधिन चाहान्छ। फूलमा भएको सुगन्धलाई जतिसुकै च्यातेर फाले पनि सुगन्ध चुडाउन सकिदैन त्यसैगरी प्रेम को अदृश्य बन्धन पनि चुडाउन नसकिने हुँदो रहेछ।

तिमीले हामी छुटिनुभन्दा १०/१५ दिन पहिले तिम्रै हातले चिठी लेखेर अब हामी प्रेम मा रहन सक्दैनौं भन्दा मैले वि.स २०७२ साल को महाभुकम्प आएको जस्तो धक्का महसुस गरेको थिए। त्यसैले भन्ने गर्छु तिम्रो प्रेम बुझ्न सकिन।

तिम्रो प्रेममा म यति धेरै भिजेको थिए कि तिमी तिमी नै थिइनौ मेरो प्रेम थियौ। प्रिती आलेले भनेजस्तै मेरो नसा नसा र रगतमा थियौ । तर जब तिमी गयौ तिम्रो प्रेम सँगै म पनि सति गएँ अथवा मेरो नसा नसा रगतमा तिम्रो प्रेम पुग्न सकेन,अनि भन्ने गर्छु मदिरा जस्तो तिम्रो प्रेम। तिम्रो प्रेम जस्तै मदिरा पनि खाएपछि नसा नसा मा पुग्छ। आखिर तिम्रो प्रेम को अर्को उपनाम यहि मदिरा नै रैछ क्या !

तिमी मेरो पहिलो प्रेम थियौ म तिम्रो पहिलो दोश्रो कुन थिएँ त्यो तिमीलाई नै थाहा होला तिमि मेरो पहिलो प्रेम हुदा म प्रतेक दिनलाई ‘भ्यालेनटाइन डे’ भन्दा बढी महत्त्व दिएको थिए। हिजो हामिले बिताएका रमाइला स्थान आज मरुभूमि झै निरास र उजाड बनेका छन्। मुटु फुटाउने छाती भक्कानिने पलहरु बनेका छन्। प्रेमले भिज्ने आँखाहरु आज त्यही तिम्रो प्रेम को सम्झनामा रुने गरेका छन्।

हिजो तिम्रो माया,साथ,सल्लाह सेवन गरेका यी नसाहरुले आज प्रेमकै कारण मदिरा सेवन गरेका छन्,अनि भन्न बाध्य हुन्छु मदिरा जस्तो तिम्रो प्रेम। तिमीले लेखेर दिएको प्रेम पत्र मैले आज पनि जतन साथ राखेको छु। तिम्रो सुन्दर औंलाबाट कालो मसिले लेखेका ती अक्षरहरु समयको अन्तरालले फिक्का पारिदिएता पनि यादहरु भने गाढा छन्।

हुन त तिमीलाई मेरो माया नलाग्ने पनि होइन। मलाइ तिम्रो माया नसा बनेर लाग्यो, तर मेरो माया तिमिलाइ माया नै बनेर लाग्यो। समय र परिस्थितिले तिमीलाई तेस्तै बनायो । परिवार को खुसी को लागि मलाइ त्यागनु पर्यो, तर पनि केही छैन। म त तिम्रो छायाँमा नै मेरो जिन्दगी समर्पित गर्न चाहान्थे। हाम्रो प्रेमको फुलबारी रङ्गिचङ्गी बनाउन चाहान्थे। प्रेमका फुलबारीमा भएका कोपिलाहरुको अनुराग फक्रियोस र सर्वत्र अनुराग छरोस् भन्ने मेरो कामना थियो । तर आज यी सबै सपनाहरु बन्द कोठा भित्र छरपस्ट भएका छन्।

प्रिय, म जस्तो थिए त्यस्तै छु । तिमी जस्ती थियौ त्यस्तै रहिनछौ, किनकी यहाँ भनाइ र गराइ मा फरक हुँदो रहेछ। हुन त मैले म जस्तो थिएँ त्यस्तै छु भन्दा तिमीलाई आफैंले आफैंलाई मपाइ भनेको जस्तो लाग्ला तर होइन। म त अझै पनि तिमीलाई तिमीले बुझ्न सक्ने जति,तिमीले लिन सक्ने जति,आफ्नो हृदयमा समेट्न सक्ने जति,मुहार मा मीठो मुस्कान फलाउन सक्ने जति प्रेम गर्छु।

तिमीलाई हेरेर कहिल्यै नथाकेका यी निर्दोश नयनहरु तिम्रो स्पर्श बोकेर आउने बतासहरु लाई अझै पनि साची राखेर भन्छु, तिम्रो जीवन मा हर्ष उमंग पोखेर म भित्री हृदय देखि नै तिमीलाई निस्वार्थ प्रेम गर्छु।

तानाशाह हिटलरले भनेका छन, ‘प्रेम होइन युद्द गर्नुहोसू युद्ध मा तपाईं कि मर्नु हुन्छ कि बाच्नु हुन्छ। तर प्रेम मा तपाईं न बाच्नु हुन्छ न मर्नु हुन्छ नै।’ हो त्यस्तैबनाइयो मलाइ तिम्रो प्रेम ले पनि।मन जोड्ने देखि महल जोड्ने सम्म को सपना बोकेका हामी आज सम्बन्ध टुटाएर बसेका छौ।सम्बन्ध मात्रै टुटेको होइन, मन पनि टुटेको छ। मुटु भक्कानिरहेको छ। आँखा रसाएका छन्। जसरी देशबाट परदेश पठाउँदा बिदाइका हात हल्लाउँदा आँखा रसाउँछन् । ठ्याक्कै त्यस्तै भएको छ। मात्र बेदना र रोदन फरक हो ।

अहिले तिम्रो जीवन के कस्तो छ मलाई थाहा छैन तर म भने विवश भएको छु। मनभरी पीडा को भारी बोकेको छु। तिमीले बेला बेलामा पठाएका पत्रहरु संगालेर राखेको छु।

आजकल त जीवनका पानाहरु पनि शून्य भएका छन्। रंगिन सपना देख्न छोडेको छु। हृदयमा तिमिलाई सजाउन त भाग्य चाहिदों रहेछ । तर म अभागी न परें। हुन त एक भएकालाई समय चक्रले छुटाउँछ, मुनामदनलाई छुट्याए जसरी। त्यसैले मेरो केही गुनासो छैन अनि केही दुःख पनि।

प्रीय,आजकल मेरो जीवन जे जस्तो छ आनन्द र मुक्ति ले भरिपूर्ण छ । तिमिले छाडे पनि बाआमाको काखमा छु। कुनै चिन्ता छैन, तनाब छैन, एक एक क्षण जीवनको गित गाउन योग्य भएका छन। मैले हिँडेको जीवनको बाटो भाग्यले कोरिदिएका छन् । ती भित्रका स-साना शब्द हाँसोको कारण बनेर म रमाएको छु।

तिम्रो अभावमा मैले बिताएका रात,मेरा चिन्तन,मेरा बिचार अनि मेरा भावना समय मिल्यो भने अवस्य सुनाउँला। यो जिन्दगी तिमीले मलाई  समर्पण गर्न नसके पनि अर्को जिन्दगी तिमिले भन्दा पहिला म तिमिलाइ नै समर्पण गरुला। प्रेमले मानिसलाई परिवर्तन गराउँछ भन्ने गर्थे । तर साँच्चै गराउने रैछ । मदिरा भन्दा पनि कडा रहेछ तिम्रो प्रेमको मात । एक पटक मताएपछी बारम्बार मताएको छ ।

उही तिम्रो
भुमिराज पौडेल