NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

पोखरामा पुष्प मेला आयोजना : फूलमा निर्भरता घट्दै

गण्डकी । तिहारको पूर्वसन्ध्यामा पोखरामा ‘सातौँ गोदावरी पुष्प प्रदर्शनी तथा चौथो गण्डकी प्रादेशिक पुष्प मेला–२०८०’ आयोजना गरिने भएको छ ।

फ्लोरीकल्चर एशोसिएसन नेपाल जिल्ला समिति कास्कीद्वारा आयोजित सो मेला यही कात्तिक १७ देखि २० गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने जनाइएको छ ।

पुष्प व्यवसायको विस्तार तथा बजार प्रवर्द्धन गर्ने उद्देश्यले उक्त प्रदर्शनी मेलाको आयोजना गरिएको एशोसिएसनका अध्यक्ष डिलबहादुर गुरुङले बताए । उनका अनुसार मेलामा फूलका २०, कृषिका तीन र सूचनामूलक एक गरी २४ प्रदर्शनीकक्ष रहनेछन् ।

‘गोदावरी फूलका विभिन्न प्रजातिका फूल र बिरुवासहित अहिलेको याममा फुल्ने सयपत्री तथा मखमली फूलको प्रदर्शनी तथा बिक्री–वितरण हुनेछ’, अध्यक्ष गुरुङले भने, ‘बीस हजार बढीले पुष्प प्रदर्शनीको अवलोकन गर्ने अपेक्षा लिइएको छ ।’

एशोसिएसनका पूर्वअध्यक्ष दया दुवाले ‘सुन्दर नगरी पोखराको पहिचान, व्यावसायिक प्रवर्द्धनमा गोदावरीको शान’ भन्ने नाराका साथ प्रदेशस्तरीय पुष्प मेला आयोजना गर्न लागिएको बताए । मेलाबाट पुष्प व्यवसाय गर्न चाहाने किसान तथा फूलप्रति अभिरुचि राख्ने ग्राहकले प्रत्यक्ष लाभ लिने उनको भनाइ छ ।

फूलखेती र एशोसियएनले गर्दै आएका गतिविधिबारे पनि प्रदर्शनीस्थलमा जानकारी दिइने पूर्वअध्यक्ष दुवाले बताए । ‘पछिल्लो समय पोखरामा पुष्प व्यवसायप्रति आकर्षण बढेको छ, नर्सरीबाट बिरुवा लगेर गाउँ-गाउँमा फूल उत्पादन गर्ने किसान पनि उत्तिकै हुनुहुन्छ’,उनले भने, ‘पहिले ९० प्रतिशत भारतीय फूलमा निर्भर रहनुपथ्र्यो, अहिले त्यो घटेर १५–२० प्रतिशतमा पुगेको छ ।’

तिहारका बेला भने माग धान्न नसकिने भएकाले भारतबाट फूल आयात गर्नुपर्ने अवस्था रहेको व्यवसायी बताउँछन् । एशोसिएसनका अनुसार गण्डमी प्रदेशमा ४८ नर्सरी सञ्चालन गर्ने पुष्प व्यवसायी छन् ।

नर्सरीबाट बिरुवा लगेर फूल उत्पादन गर्ने किसानको सङ्ख्या भने धेरै छ । व्यवसायी दुवाले उन्नत बीउबिजन र आधुनिक खेती प्रविधिले पुष्प व्यवसाय फस्टाउँदै गएको बताए । उनले छिटो फुल्ने हुँदा किसानको आकर्षण उन्नत जातका फूलमा रहेको उल्लेख गरे । ‘ढिलो फुल्ने र उत्पादन कम हुने हुँदा स्थानीय जातका फूलमा आकर्षण घट्दै गएको छ, बजारमा पनि उन्नत जातका फूलको माग बढी छ’, उनले भने ।