NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

कर्णालीमा आपराधिक घटना बढ्यो

जाजरकोट । कर्णालीमा आपराधिक घटनाको सङ्ख्या वृद्धि हुँदै गएको छ । टाढाटाढाका बस्ती भएका कारण प्रहरीको पहुँच नहुँदा र  पर्याप्त निगरानी नहुँदा आपराधिक घटना वृद्धि भएको हो ।

एक गाउँबाट अर्को गाउँमा जान  दिनभर हिँड्नुपर्ने भएकाले  आपराधिक घटनाका लागि  बल पुगेको छ । ठूलो भूभाग तर छरिएर रहेका बस्तीका कारण पर्याप्त मात्रामा सुरक्षाको पहुँच पुग्न नसकेको प्रहरीनै स्वीकार गर्छन् । अन्य समयमा घरबाहिर हुने तर चाडपर्वमा घरमा फर्केने युवायुवतीले आफन्तको गुनासो सुनेर रिस साँधने गरेको समेत खुलेको छ ।

सामाजिक सञ्जालमा जथाभावी रिस पोखेर लेख्दा त्यसको उपयुक्त समयमा प्रतिकार हुने अर्को समस्या हुँदै आएको छ । यसरी दसैँ अवधिभर कर्णालीमा थुप्रै हिंसात्मक घटना भएका छन् ।

सुर्खेतस्थित प्रदेश प्रहरी कार्यालयका अनुसार यस वर्षको बडादसैँभर ५८ वटा अपराधका घटना दर्ता भएका छन् । त्यसमध्ये ३४ वटा कुटपिट तथा झैझगडाका घटना छन् । त्यस्ता घटनामा छ जनाको ज्यान गएको छ भने ३१ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

चाडपर्वको समयमा मात्रै होइन पछिल्ला वर्षमा पनि आपराधिक घटनाहरू बढ्दै गएका छन् । उक्त कार्यालयका अनुसार कर्णालीमा प्रत्येक वर्ष आपराधिक घटनाको सङ्ख्य बढ्दै गएको हो ।

आर्थिक वर्ष २०७७/७८ मा एक हजार ६ सय ३७, आव २०७८/७९ मा एक हजार पाँच सय ५५ र आव २०७९/८० मा एक हजार सात सय २९ अपराधका मुद्दा दर्ता भएका थिए । चालु आर्थिक वर्षको यो अवधिसम्म चार सय ८० अपराधका मुद्दा दर्ता भएका थिए ।

आर्थिक वर्ष २०७८/७९ को दसैँ अवधिभर ४४ वटा र आव २०७९/८० को दसैँभर २५ अपराधका घटना दर्ता भएको प्रदेश प्रहरी कार्यालयको अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।

आपराधिक घटना वृद्धि भइरहँदा प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनाएको उक्त कार्यालयका प्रमुख भीमप्रसाद ढकालले बताए । अदालतबाट दोषी ठहर भई फरार रहेका दोषीलाई पक्राउ गर्नाका साथै चोरी, बहुविवाह, कर्तव्य ज्यान र सार्वजनिक मुद्दामा अदालतले दोषी ठहराएपछि कैद सजाय र जरिमानाको फैसला सुनाइएका कसुरदार धमाधम समातिन थालेको उनको भनाइ थियो।

अनुसन्धानलाई प्रभावकारी र अदालतको फैसला कार्यान्वयन, पीडितलाई न्यायको अनुभूति तथा दोषीलाई कानुनी दायरामा ल्याउन घटनालगत्तै संलग्न व्यक्ति पक्राउ गर्ने रणनीति लिइएको प्रहरी प्रमुख ढकालले जानकारी दिए  । ‘प्रहरी युनिट, स्थानीय तह, सरकारी कार्यालय र अन्य संयन्त्र परिचालन गरी अन्य फरार कसुरदारको पनि खोजी भइरहेको छ’, उनले भने ।

दसैं अवधिमा यस्ता घटना धेरै

कात्तिक १० गते बिहान मुगुमा चार जनाको शव फेला प-यो । छायाँनाथ रारा नगरपालिका– ६ मन्दुमा ती शव फेला परेका हुन् । उनीहरूको हत्या भएको आशङ्का गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए ।

घटना गत बुधबार राति घटना भए पनि प्रहरीलाई भने शुक्रबार मात्र खबर गरिएको जनाइएको थियो। हत्या गरिएको विषयमा शङ्कास्पद एक जनालाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ जारी राखे पनि ती व्यक्तिको नाम र ठेगाना भने गोप्य राखिएको छ । अनुसन्धानमा बाधा नपुगोस् भन्ने उद्देश्यले नाम सार्वजनिक नगरिएको प्रहरीको भनाइ थियो ।

उक्त घटनाको अनुसन्धानका लागि आइतबार प्रदेश प्रहरी प्रमुखसहितको टोली मुगु पुगेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले बताए ।

दसैँकै अवधिमा दैलेखमा छुट्टाछुट्टै भएका झडपमा दुई युवकको ज्यान गयो । ज्यान जानेमा दैलेखको नारायण नगरपालिका–७ का २५ वर्षीय रोहन शाही र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ का २० वर्षीय किशोर बुढा क्षेत्री रहेका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गत बिहीबार राति भैरवी गाउँपालिका–४ सिलङ्गी बजारमा युवाहरूबीच भएको झडपमा घाइते क्षेत्रीको उपचारका क्रममा मृत्यु भएको थियोे । जिल्ला प्रहरी कार्यालयका  प्रमुख किशोर लम्सालले उक्त घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको जानकारी दिए ।

यस्तै दैलेखकै नारायण नगरपालिका–७ मा कात्तिक ७ गते राति युवाहरूबीच भएको झडपमा परी शाहीको मृत्यु भएको थियो । झडपमा घाइते भएका उनको पनि उपचारका क्रममा गत शुक्रबार प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो । घटनामा संलग्न रहेको भन्दै चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी गत बुधबार सल्यानमा ढोग नगरेको भन्दै कुटपिट गर्दा एक जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा बागचौर नगरपालिका–७ कोटबारा पुरानछापका २० वर्षीय घनश्याम ओली रहेको प्रहरीले जनाएको छ ।

उनलाई कात्तिक ४ गते भलिबल खेल्न गएको मैदानमा छिमेकी गाउँ स्याँलाका २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओलीले मादक पदार्थ सेवन गरेर कुटपिट गरेको प्रहरीले जनाएको छ । जिल्लास्थित प्रहरी कार्यालयले प्रदेश प्रहरी कार्यालयले विवरण सार्वजानिक नगरुन्जेल सूचना गोप्य राख्ने गरेका छन् ।

कर्णालीमा दसैँ तिहारजस्ता चाडपर्व लक्षित सुरक्षा योजना तयार पारेर लागू गरिएको जानकारी दिँदै प्रहरीले आपराधिक गतिविधि हुन नदिन प्रदेशभर पाँच हजारभन्दा बढी प्रहरी परिचालन गरिएको  र शान्तिसुरक्षाका लागि प्रभावकारी रूपमा कार्यतालिका बनाइएको पत्रकार सम्मेलनमा  जानकारी गराएको थियो ।