मौसम परिवर्तनसँगै बिरामीको चाप बढ्दो, डेंगु संक्रमण पनि बढ्यो

वीरगञ्ज । मौसमा आएको परिवर्तनसँगै पर्सामा रुघाखोकी, ज्वरो र डेङ्गीका बिरामीको चाप बढेको छ । बिहान तथा बेलुका जाडो र दिउँसो हुने गर्मीका कारण सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी निकै बढेका छन् ।
वीरगञ्जस्थित नारायणी अस्पताल, प्रभु अस्पताल, नेपाल मेडिसिटी, बयोधा अस्पताल तथा ग्रामीण भेगका स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप निकै बढेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
दुधे बालकदेखि ६० वर्षसम्मका वृद्धवृद्धा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियालगायतको प्रकोपबाट पीडित भएका छन् । पछिल्लो केही दिनयता आएको मौसमी परिवर्तनले अस्पतालमा बिरामीको चाप बढेको नारायणी अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंहले जानकारी दिए ।
मौसममा आएको परिवर्तनका कारण रुघाखोकी, ज्वरो, निमोनियालगायत बिरामी दैनिक करिब २० देखि २५ जनासम्म उपचारका लागि आउने गरेको उनले बताए। यस्तै पछिल्लो केही दिनयता दैनिक चार/पाँच जनासम्म डेङ्गु सङ्क्रमित बिरामी उपचारका लागि आउने गरेको प्रवक्ता डा सिंहको भनाइ थियो ।
अस्पतालमा बिरामीको चाप बढ्दै गएकाले श्ययाको अभाव भएको र भूइँमै राखेर उपचार गर्नुपर्ने अवस्था रहेको उनले बताए। यसैबीच बढ्दो डेङ्गु सङ्क्रमणलाई दृष्टिगत गरी वीरगञ्ज महानगरपालिकाले ‘खोज र नष्ट गर’ अभियानलाई निरन्तरता दिएको छ ।
पछिल्लो समय वीरगञ्ज महानगर क्षेत्रमा डेङ्गु सङ्क्रमण बढ्दै गएपछि महानगरपालिकाले डेङ्गु सार्ने लामखुट्टे र त्यसको लार्भा नष्ट गर्ने अभियान सुरु गरेको छ । अभियानका क्रममा महानगरपालिकाले डेङ्गु सङ्क्रमणका लागि विभिन्न स्थानमा जमेका पानी सफा गर्ने, स्प्रे गर्ने र वीरगञ्ज भित्रिने यात्रुबाहक बसदेखि अन्य सवारी सवारीसाधनमा स्प्रे गर्न थालिएको महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सरफुदिन मियाँले जानकारी दिए ।
महानगरपालिकाका प्रमुख राजेशमान सिंहको निर्देशनमा गत भदौ २६ गतेदेखि सुरु भएको अभियानकै क्रममा लामखुट्टे र लार्भा नष्ट गर्न र सवारीसाधन तथा पानी जमेको स्थानमा स्प्रे गर्न थालिएको छ ।
प्रमुख मियाँका अनुसार सो अभियानका लागि महानगरको स्वास्थ्य महाशाखासँगै सरसफाई शाखा र नगर प्रहरीको टोलीलाई स्प्रे गर्न परिचालन गरिएको छ । मानिसको अत्यधिक भीडभाड हुने सार्वजनिक स्थानमा पनि किटनाशक औषधि स्प्रे गर्ने क्रमलाई महानगरले निरन्तरता दिएको उनले बताए ।
ताजा अपडेट
-
वीरगञ्ज भन्सार : भारतबाट आयात चार खर्ब ३४ अर्ब, निर्यात ८७ अर्ब
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
पशुपति क्षेत्र विकास कोषको निमित्त सदस्य सचिवमा जोशी
-
काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै
-
निजामती सेवा विधेयकमा भएको चलखेल जनताप्रतिको बेइमानी : नेता शर्मा
प्रतिक्रिया