१५ लाखको ऋण दिएर ७ करोडको घर–जग्गा कब्जा !
काठमाडाैं । पुतलीसडकको यूनाइटेड बचत तथा ऋण सहकारीले पूर्वी–रुकुम पुथा–उत्तरगंगा गाउँपालिका १० स्थायी निवासी सुरेन्द्र पुनको काठमाडौंको बालाजुमा रहेको करिब ७ करोडको घरजग्गा मिलेमतोमा कब्जा गरेको पीडितकाे गुनासो छ । बुधबार संवाद डबलीमा क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट न्याय तथा कानुन विभागले पत्रकार सम्मेलन गरी सोबारे भण्डाफोर गरेको छ ।
करिब १२ वर्ष जापानमा श्रम गरेर कमाएको रकमले लिएको घर अदालत, मालपोत, वडाकार्यालय र वकिलहरुसँग मिलेमातो गरेर सो सहकारीले लिलाम गरेको पीडित पुनले आरोप लगाएका छन् ।
पीडित वैदशिक रोजगारको क्रममा जापान रहेको समय २०६१ सालमा सहोदर भाई पञ्च पुनले दाजु सुरेन्द्रको नाममा रहेको घर–जग्गा आफू स्वयम सुरेन्द्र भएको हस्ताक्षर र ल्याप्चे किर्ते गरी ऋण लिएको अदालतले समेत पुष्टि गरेको छ ।
ऋण लिँदाको समयमा सहकारीले सुरेन्द्रको घरलाई दृष्टिबन्धक राखेर भाई पञ्च पुनले ५ लाख, निरन्जन प्रसाद शर्माले ५ लाख र दिपेन्द्र उप्रेतीले ५ लाख बाँडेको जिल्ला अदालत काठमाडौंलेसमेत पुष्टि गरिसकेको छ ।
२०६३ सालमा निज सुरेन्द्र जापानबाट फर्किएपछि आफ्नो घरजग्गा किर्ते जालसाजी गरेर सहकारीमा रहेको थाहा पाएपछि सहकारीमा सोधीखोजी गर्दा तत्काल ऋणको दोब्बर बढी ३२ लाख तिर्न भनी घरमा पत्र पठाएको पीडितले बताए । सहकारीसमक्ष आफूले ऋण नलिएको बरु भाइले किर्ते गरेको भन्दा नमानेपछि न्यायको लागि काठमाडौं जिल्ला अदालतमा मुद्दा लडेको बताए । करिब ७ वर्षपछि अदालतमा ल्याप्चे तथा हस्ताक्षर किर्ते पुष्टि भएपछि पीडितको पक्षमा फैसला गरेपनि सहकारी पुनः त्यसविरुद्ध उच्च अदालत गएपछि मिलेमतोमा मुद्दा उल्ट्याएको आरोप पीडितको छ ।
त्यसपछि पीडित न्यायको निम्ति सर्वाेच्च अदालतमा गए, सर्वाेच्चले किर्ते तथा ठगी कुनै नभएको बरु लेनदेनमार्फत मिलापत्र गर्नु भनी पुनः जिल्ला अदालत फर्काएको पीडित बताउँछन् ।
यसरी १८ वर्षदेखि अदालतमा मुद्दा चलिरहँदा गत भदौमा सहकारीले कानुनी मर्यादालाई तोड्दै घरजग्गा लिलाम गरी आफूलाई सडकमा पुर्याएको दुःख पीडितले व्यक्त गरे । कतै न्याय नपाएपछि बाध्य भई आमरुपमा न्याय माग्न र पीडा सार्वजनिक गर्न विवश भएको सुरेन्द्र बताउँछन् ।
पत्रकार सम्मेलनमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको न्याय तथा कानुन विभागका प्रमुख कृष्ण धमला ‘गम्भिर’ले सुरेन्द्रले पाएको अन्यायर अत्याचारले आफ्नो पार्टीलाई गम्भिर बनाएपछि पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको बताए । सो पार्टीका स्थायी कमिटी सदस्यसमेत रहेका धमलाले कानुनी राज्य भनिएको देशमा न्यायालयसमेतको मिलेमतोले आफूलाई दुःखी तुल्याएको बताउँदै भने, ‘अदालत, मालपोत, वकिल, सहकारी मिलेर पीडितलाई आत्मदाहसम्म गर्न बाध्य बनाउनेहरुलाई हाम्रो पार्टीले छाड्दैन ।’
सो पार्टीका नेता जुनतारा मगरले विदेशबाट खुन–पसिना बगाएर कमाएको परिश्रमबाट आर्जेको सम्पत्ति गलत बाटोबाट हडपेकोले पीडितलाई न्याय दिने प्रतिबद्धता जाहेर गरे । हाकाहाकी सोझासाझा सुरेन्द्रजस्ता हजारौं जनताको जग्गा जमिनलाई लिलाम गर्नेविरुद्ध पार्टी खरो उत्रने बताउँदै भने, ‘कानुन तथा न्यायको गला रेट्ने कथित युनाइटेड सहकारी, मालपोत, वकिल र वडा कार्यालयका मान्छेहरुलाई सडकमा पछार्ने दिन टाढा छैन ।’
अभियन्ता पुण्य गौतमले सुरेन्द्र हाम्रो समाजका एक प्रतिनिधि पीडित पात्र मात्रै रहेको र यस्ता हजारौं निश्चल र निश्छल जनता दिनदिनै माफियाहरुको चंगुलमा पर्ने हुँदा न्याका लागि सबै एक हुनुपर्ने धारणा राखे । गौतमले सुरेन्द्रको न्यायका निम्ति युनाइटेड सहकारी देखी मालपोतसम्म घेर्न तयार रहने प्रतिबद्धता जाहेर गरे ।
ताजा अपडेट
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव
-
६ कम्पनीले आईपीओ निष्कासन अनुमति माग्दै सेबोनमा दिए आवेदन
-
पहाड, हिमालमा ठूलो वर्षा र हिमपात, पश्चिम तराईमा तातो हावा चल्ने पूर्वानुमान


प्रतिक्रिया