NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

६ महिनामा ६ करोड खर्चेर एउटामात्रै कानुन बनेपछि रविले पोखे असन्तुष्टि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछानेले संसदबाट कानुन बन्न नसकेको विषयमा असन्तुष्टि व्यक्त गरेका छन् ।

आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले ६ महिना समय घर्किसक्दा संघीय संसदले ६ करोड खर्चेर बजेटसँग सम्बन्धितवाहेक एउटामात्रै कानुन बनाएको बताएका हुन् । बरु यो भन्दा प्रभावकारी काम आफू सञ्चारकर्मी हुँदा गरेको भन्दै उनले असन्तुष्टि पोखेका हुन् ।

‘६ महिनाको समय र करिब ६ महिनाको समय खर्चिएर यो सदनले एएटा कानुन पास गर्यो,’ पूर्वसञ्चारकर्मीसमेत रहेका लामिछानेले भने, ‘योभन्दा धेरै धेरै प्रभावकारी म टेलिभिजन सञ्चारकर्मी हुँदा हुने गर्दथें ।’

नागरिकका समस्याहरू सुल्झाउने काममा यो भन्दा धेरै प्रभावकारी काम गरेको आफूलाई सम्झना आउने गरेको उनको भनाईं छ ।

आर्थिक रूपमा दुई छिमेकी राष्ट्रले प्रगती गर्दा पनि नेपालका नेताहरूले विदेशी दूतावासमा जाँदा देशको योजनाको साटो छोराछोरीको छात्रवृत्तिको प्रस्ताव लिएर जाने गरेको विषयमा उनले प्रश्न गरेका छन् । ‘दुई छिमेकीसँग आर्थिक उन्नतीको प्रस्ताव लिएर जान सकेको भए आज यति ठूलो उन्नती गरेका मुलुकहरुको छेउमा बसेर हामी हरेक सूचकांकमा तल झरेको गरिब देशमा बस्नुपर्ने थिएन,’ उनले भने ।

उनले सत्तामा रहेको नेताहरूले सत्तावाहेक केहीमा ध्यान नदिएको आरोप लगाएका छन् । लोकतन्त्रका आधारभूत सिद्धान्त र मान्यतामा सरकार केन्द्रीत भएर प्रतिबद्ध हुनुपर्नेमा उनले जोड दिए ।