NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि ‘जाउँ है पोखरा’ अभियान

जनकपुरधाम । आन्तरिक पर्यटन विकासका लागि व्यावसायिक सहकार्य र पर्यटन प्रवर्द्धनको उद्देश्यसहित सुरु गरिएको ‘जाउँ है पोखरा’ अभियानलाई यस वर्ष पनि निरन्तरता दिइने भएको छ ।

अभियानका लागि प्रचारप्रसारका क्रममा आज जनकपुरधाममा आयोजित अन्तक्र्रियामा पोखरा होटल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले विगत दुई दशकदेखि सुरु गरिएको अभियानलाई यस वर्ष पनि निरन्तरता दिइएको बताए ।

पोखरा महानगरपालिकाको प्रवर्द्धनमा बिहीबारदेखि सुरु भएको प्रचारप्रसार अभियान जनकपुर, विराटनगर, बिर्तामोड, धनकुटा र चितवन पुगेर यही २० गते सम्पन्न हुने उनले जानकारी दिए ।

‘यस क्षेत्रका पर्यटकलाई पोखरा पठाउने र पोखराबाट पर्यटकलाई पूर्व अर्थात् देशका अन्य भूभागमा पठाउन अनुरोध गर्ने उद्देश्यले अभियान सुरु गरेका छौँ । यसमा पर्यटन व्यवसायीलगायत सम्बद्ध सबैको साथ र सहयोग रहने अपेक्षा छ’, अध्यक्ष सुवेदीले भने, ‘पर्यटनका लागि पहुँच (कनेक्टिभिटी) महत्वपूर्ण हुने भएकाले पूर्वी नेपालका विभिन्न सहरबाट पोखरासम्म सीधा हवाई उडान तथा स्तरीय बस सेवा सञ्चालनका लागि पनि सबैको पहल र सक्रियताका लागि अपिल गर्दछौं ।’

त्यस अवसरमा मधेस प्रदेश होटल सङ्घका अध्यक्ष विजय झुनझुनवालाले कोभिड–१९ देखि थला परेको पर्यटनलाई पुनरुत्थान गर्न यस अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले धार्मिक र पर्यटकीय हिसाबले एक ऐतिहासिकस्थल जनकपुरको महिमा देशका अन्य क्षेत्रमा पनि पु-याउनका लागि पर्यटकलाई यहाँ पठाउन पहल गर्न सरोकारवालालाई आग्रह गरे ।

कार्यक्रममा मधेस प्रदेशको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको निमित्त सचिव जयकुमार राउतले आन्तरिक पर्यटकका साथै काठमाडौँ र पोखरा घुम्न आउने अन्तर्राष्ट्रिय पर्यटकलाई मधेस प्रदेशका ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्वका स्थलको भ्रमणका लागि पठाउन जरुरी रहेको र यस कार्यमा सहकार्य गर्न आफूहरु तयार रहेको बताए ।

पोखरा होटल सङ्घले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि फेवा नव वर्ष महोत्सव, भाइटीका महोत्सव, खाना महोत्सव गर्दै आएको र आगामी मङ्सिर ९ गते अन्तर्राष्ट्रिय पोखरा क्रसकन्ट्री रेस तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि भारतीय सहरमा ‘चलिए पोखरा अभियान’ र अन्तर्राष्ट्रिय बजारमा हुने विभिन्न ट्राभल मार्टमा समेत सहभागिता जनाउँदै आइएको जनाएको छ ।