NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

वन समूहको सहयोगमा गाउँमा बिजुली 

उदयपुर । उज्यालोको पर्व तिहार नजिकिएसँगै उदयपुरको कटारी नगरपालिका–७ मर्जेतपुरका मोहनसिंह तामाङको घरमा झिलिमिली बत्ती बलेको छ ।

नेपाल विद्युत् प्राधिकरणको कटारी शाखाबाट विद्युत्को मुख्य प्रशारण लाईनबाट तामाङको घरमा बिजुली जडान भएको हो । तामाङको घरमा बिजुली बाल्नका लागि तामाङ नै उपभोक्ता सदस्य भएको सरस्वती सामुदायिक वन उपभोक्ता समूह कटारीले व्यवस्था मिलाएको हो ।

‘समूहले तार र मिटरबक्स जडान गरिदिएको हो’, तामाङले भने, ‘समूहको सहयोग पाएपछि घरमा बिजुली बल्यो ।’ उनलगायत गाउँको एक सय घरमा समूहको सहयोगमा बिजुली बलेको छ । समूहको सहयोगले बत्ती बाल्न पाउँदा राहत मिलेको अर्का स्थानीयवासी रामलाल तामाङकाले बताए ।

गाउँमा बत्ती बाल्न समूहले प्रशारण लाइनसम्म जोड्ने तार र मिटरबक्स खरिद गरी सहयोग गरेको समूहका सचिव कर्णबहादुर तामाङले बताए । ‘समूहले भेलाबाट निर्णय गराएर गाउँमा बिजुली बाल्दै आएका छौँ’, उनले भने ।

समूहका अध्यक्ष खड्गबहादुर तामाङका अनुसार हालसम्म गाउँमा बिजुली बाल्न समूहले आठ लाखभन्दा बढी खर्च गरिसकेको छ । गाउँमा सबै उपभाक्ताको घर उज्यालो पार्न समूहले बिजुली जडानको काम गरिरहेको छ ।

आमभेलाको निर्णयसँगै डिभिजन वन कार्यालय कटारी (त्रिवेणी) को सिफारिसमा समूहले गाउँमा बिजुली बाल्ने कार्यक्रममा सहयोग गर्दै आएको अध्यक्ष तामाङले बताए।

कटारी नगरपालिकाको उत्तरपूर्वी वडाको पहाडी भेगमा रहेको उक्त गाउँमा बिजुली नपुग्दा स्थानीयवासीले सोलार र टुकी बाल्दै आएका थिए । बिजुली पुगेसँगै वन समूहले बत्ती बाल्नका लागि कार्यक्रम निर्माण गरी सहयोग गरेको हो ।

गाउँमा बिजुली जडान भएपछि तिहारसँगै घरघरमा झिलिमिली बत्ती बालिएपछि अहिले गाउँ नै उज्यालो भएको स्थानीय सोमबहादुर तामाङले बताए ।

ताजा अपडेट

नेपालवाच विशेष