NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

आठबीसकोटका मृतकका परिवारले पाए राहत  

त्रिवेणी । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका सबै मृतक परिवारका आफन्तलाई राहतसँगै किरिया खर्च दिइएको छ ।

आइतबार र सोमबार गरेर नगरपालिकाका २८ घरका मृतक परिवारलाई किरिया खर्चसँगै राहत सामग्री दिइएको हो । गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर छ दशमलव चार म्याग्निच्युटको  भूकम्प गएको थियो ।

सोही भूकम्पमा परेर वडा नं ९, १०, ११, १२, १३, र १४ का २८ घरपरिवारले आफन्त गुमाउनु परेको थियो । आफन्त गुमाएका सबै परिवारलाई दुई दिन लगाएर राहतसँगै किरिया खर्च दिइएको छ । प्रत्येक मृतक परिवालाई रु २५ हजारका दरले किरिया खर्च दिएको आठबीसकोट नगर उपप्रमुख  धनकुमारी शाहीले जानकारी दिए ।

उनका अनुसार घरबारविहीन भएका परिवारलाई पनि आवश्यक पर्ने खाद्यान्नलगायत अन्य सामग्रीको पाकेज बनाएर राहत सामग्री वितरण गर्ने काम जारी छ । नगरपालिकामा उपलब्ध भएको खाद्यान्नलगायत अन्य राहत पीडितका क्षेत्रमा लगेर वितरण गरिरहेको उपप्रमख शाहीले जानकारी दिए ।

भूकम्पका कारण आठबीसकोटमा ४२ र जाजरकोटमा दुईजना गरेर ४४ जनाको मृत्यु भएकामा चारजना भने जिल्लाबाहिरका रहेको नगरपलिका जिन्सी शाखाप्रमुख टेकबहादुर चन्दले जानकारी दिए ।

त्यस्तै सानीभेरी गाउँपालिकामा पनि भूकम्पमा परी मृत्यु भएका घरपरिवारलाई गाउँपालिकाले राहतसँगै रु २५ हजार किरिया खर्च उपलब्ध गराएको गाउँपालिकाका प्रवक्ता पहलसिङ घर्तीले बताए ।

यहाँ १२ जनाको मृत्यु भएको थियो । गत शुक्रबार आएको भूकम्पले जाजरकोटसहित रुकुम पश्चिममा मानवीय क्षतीसँगै भौतिक संरचनामा ठूलो क्षति पु-याएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष