NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाइ

चितवन । चितवन राष्ट्रिय निकुञ्जले चाडपर्वका समयमा चोरीसिकोरी हुनसक्ने जनाउँदै सुरक्षा व्यवस्थामा कडा गरेको छ ।

चाडपर्वका समयमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले बताए । यसका लागि निकुञ्जमा डुङ्गा गस्तीको सङ्ख्या थप गरिएको छ । तत्काल परिचालन हुनका लागि विशेष टोली तयारी अवस्थामा राखिएको उनले बताए ।

निकुञ्जको ६७ सुरक्षा पोष्टमा नेपाली सेना, निकुञ्ज कर्मचारी तथा अन्य सुरक्षा संयन्त्रले काम गरिराखेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

‘त्यसैगरी हात्तीमा गस्ती, घुमुवा गस्तीसहितको व्यवस्था मिलाएका छौँ’ उनले भने, ‘कार्यालयमा अन्य कर्मचारी पनि आलोपालो गरी बिदामा जाने गरी व्यवस्था मिलाईएको छ ।’ निकुञ्जमा पैदल, साइकल, जीप, हात्ती, डङ्गा लगायतबाट नियमित गस्ती गर्ने गरिन्छ । यसका अतिरिक्त रात बिताउने गरी संवेदनशील ठाउँमा गस्ती गर्ने गरिएको छ । यसलाई ‘एम्बुस’ नाम दिएर परिचालन गरिएको छ । निकुञ्जभित्र मानिसको चहलपहल धेरै हुने ठाउँमा लुकाएर क्यामरा राख्ने गरिएको छ ।

निकुञ्जका ठाउँठाउँमा सिसी क्यामरा र स्पाई क्यामरा राखिएको छ । निकुञ्जमा विश्वमा नै दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, नीलगाई, घडियाल गोही, हात्तीलगायतका जनावर रहेका छन् ।

पछिल्ला दिनमा जङ्गली ध्रुवे हात्तीले माडी र भरतपुरका राप्ती नदी किनारका बस्तीमा दुःख दिन थालेपछि दुर्घटना नहोस् भन्नका लागि सजगता अपनाइको उनले जानकारी दिए ।

निकुञ्ज र नेपाली सेनाका गाडीले हात्तीलाई निगरानी राखिएको छ भने उपभोक्ताले मध्यवर्ती क्षेत्रमा ट्याक्टरमार्फत् निगरानी गरिरहेका छन् । जसका कारण निकुञ्ज सुरक्षामा समेत सहयोग पुगेको छ । वर्षात र चाडपर्वको समयमा तस्कर सक्रिय हुनसक्ने भएकाले विशेष निगरानी गरिएको हो ।