NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

एनसेलद्वारा कर्णाली प्रदेश सरकारलाई ५० लाखको चेक हस्तान्तरण

काठमाडाैं । एनसेल आजियाटा लिमिटेडले भूकम्पपीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न गरेको प्रतिबद्धताबमोजिम कर्णाली प्रदेश सरकारलाई ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ।

कात्तिक १७ गतेको विनाशकारी भूकम्पपश्चात् एक जिम्मेवार अत्यावश्यक सेवाप्रदायकका रुपमा ग्राहकलाई आफ्ना प्रियजनसँग सम्पर्कमा रहन र सोही क्षेत्रमा राहत तथा उद्धार कार्यलाई सहयोग पुर्‍याउन प्रभावित जिल्ला जाजरकोट, रुकुम (पश्चिम) र रुकुम (पूर्व)मा रहेका ग्राहकलाई रु ४० लाख ब्यालेन्स बाराबरको सेवा निःशुल्क उपलब्ध गराएको थियो।

एनसेलले बिहीबार आफ्नो प्रतिबद्धताअनुरुप कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यलय, सुर्खेत पुगेर ५० लाखको चेक हस्तान्तरण गरेको छ।

चेक एनसेलका तर्फबाट एनसेलका चिफ रेगुलेटरी एण्ड लिगल अफिसर, विशाल उपाध्यायले कर्णाली प्रदेश सरकारको उद्योग, वन तथा पर्यटनमन्त्री कृष्णबहादुर बिसीलाई एक कार्यक्रममाझ हस्तान्तरण गरेका थिए।

कर्णाली प्रदेशमा विपद् प्रतिकार्यमा आफ्नो तर्फबाट एनसेलले कसरी सहगोग पुर् याउन सक्छ भन्नेबारे सम्बन्धित अधिकारीहरूसँग एनसेलले छलफल जारी राखेको छ र भूकम्प प्रभावितलाई आवश्यक सहयोग प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको एनसेलले जनाएको छ।

‘यस प्रकारको कठिन समयमा प्रदेश सरकारसँग समन्वय गरी काम गर्दा स्थानीय समुदायमा पुग्न र उनीहरूलाई छिट्टै सहयोग प्रदान गर्न मद्दत पुग्ने कुरामा हामी विश्वास राख्दछौँ,’ एनसेलका चिफ रेगुलेटरी एण्ड लिगल अफिसर, विशाल उपाध्यायले भने।

एनसेलको यो सहयोगका लागि धन्यवाद दिँदै कर्णाली प्रदेश सरकारका कामु मुख्यसचिव चूडामणि पौडेलले भने,‘कर्णालीका भूकम्पपीडित जनतालाई सहयोग लिएर सुर्खेतमा आउनु भएकोमा कर्णाली प्रदेश सरकार र मुख्यमन्त्रीको तर्फबाट म सम्पूर्ण एनसेल परिवारलाई धन्यवाद ज्ञापन गर्दछु।’