भूकम्पपीडितलाई मारवाडी सेवा समितिद्वारा राहत सामग्री हस्तान्तरण

काठमाडाैं । गत शुक्रवार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोट केन्द्रबिन्दु बनाएर आएको विनाशकारी भूकम्पले तहसनहस पारेको जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितलाई मारवाडी सेवा समिति नेपालले राहत सामग्री हस्तान्तरण गरेको छ ।
मारवाडी सेवा समाजले कार्तिक २३ गतेका दिन पशुपति गौशाला धर्मशालामा एक कार्यक्रम गरी नेकपा माओवादीका नेता वर्षमान पुनमार्फत फाइबरको सिरक ५७० थान, पीफम मेट ५०० थान र दाल १ केजी र नुन १ केजी राखेर प्याक गरिएको ४०० प्याकेट चामल हस्तान्तरण गरेको हो ।
गृह मन्त्रालयमार्फत २६५ थान फाइबर सिरक र ४०० थान पी फम पठाइएको मारवाडी सेवा समाजले जानकारी दिएको छ । राहत हस्तान्तरणको अवसर पारेर नेकपा माओवादीका नेता वर्षमान पुनले गाई गोठ, डाइलेसिस सेन्टरको अवलोकन गर्नुका साथै गौशाला धर्मशालाबाट सञ्चालित सेवा कार्यहरूको बारेमा जानकारी लिएका थिए।
राहत हस्तान्तरण कार्यक्रममा मारवाडी सेवा समितिका अध्यक्ष कैलाशचन्द्र गोयल, उपाध्यक्ष नारायण बजाज, महासचिव प्रमोदकुमार अग्रवाल (चौधरी), कोषाध्यक्ष धर्मेन्द्र अग्रवाल, सचिवद्धय सन्दिप माखरिया, सन्तोष खेतान, मदन मित्तल गौशाला धर्मशालाका सह कोषाध्यक्ष अशोककुमार अग्रवाल(गर्ग), का.स. महावीर पोद्दार, मारवाडी युवा मञ्चका महासचिव प्रकाश केजडीवाल, सचिव रितेश जाजोदिया लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया