नेपाल एयरलाइन्सलाई राष्ट्रिय ध्वजावाहक सम्मान
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मान पाएको छ । भारतको मुसाफिर मिडिया हबले भारतमा उडान भर्ने अन्तर्राष्ट्रिय एयरलाइन्समध्ये सन् २०२३ को लागि वायुसेवा निगमलाई उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मानको लागि छनोट गरेको हो ।
भारतको मुसाफिर ट्राभल टुरिजम क्षेत्रमा लामो समयदेखि टुरिजम ब्रान्डिङ तथा प्रचारप्रसार गर्दै आएको कम्पनी हो । निगमका अनुसार गत कात्तिक ३० गते (नोभेम्बर १५) मा भारतको राजधानी नयाँदिल्लीमा आयोजित एक कार्यक्रममा उक्त सम्मान घोषणा गरिएको थियो । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले प्राप्त सम्मानले अझै जिम्मेवारीपूर्वक निगमको सेवालाई प्रभावकारी बनाउन प्रेरणा मिलेको बताए ।
उनले निगमको सेवा तथा गुणस्तर अन्तर्राष्ट्रियस्तरको भएको र यसको वृद्धिमा लगातार प्रयास भइरहेको कुरा प्राप्त सम्मानले पुष्टि गरेको दाबी गरे । निगमले हाल अन्तर्राष्ट्रियतर्फ चार थान वाईडबडी जहाजमार्फत भारतको नयाँदिल्ली, मुम्बई, बैंगलोर, दुबई, दोहा, दमाम, बैंकक, हङकङ, मलेसिया, जापानलगायत दश गन्तव्यमा उडान गरिरहेको छ ।
त्यसैगरी आन्तरिकतर्फ दुईवटा ट्विनअटर जहाजबाट ताप्लेजुङ, इलाम, भोजपुर, फाप्लु, थाम खर्क, खानिडाँडा, रूकुम, नेपालगञ्ज, हुम्ला, जुम्ला, डोल्पा, बाजुरा, दाङ, रेसुङ्गालगायत १५ गन्तव्यमा उडान गरिरहेको छ । दसैंँ तिहार जस्ता चाडपर्वमा यात्रुको चाप र आवश्यकतालाई मध्यनजर गर्दै निगमले एउटा जहाज नेपालगञ्जमा राखेर त्यहाँबाट रूकुम, हुम्ला, जुम्ला, डोल्पा, बाजुरा जस्ता दुर्गम क्षेत्रका यात्रुलाई सेवा दिइरहेको निगमले उल्लेख गरेको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया