NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

आजदेखि प्रिमियममा आइपीओ निष्काशन गर्दै हिमालयन रिइन्स्योरेन्स

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले आज (मंसिर ४ गते) देखि प्रिमियममा आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले जारी चुक्तापूँजीको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको प्रति शेयर १ सय रुपैयाँ अंकित दरका ३ करोड कित्ता साधारण शेयरमा प्रिमियम वापत १०६ रुपैयाँ थप गरी २०६ रुपैयाँ अंकित दरमा ६ अर्ब १८ करोड रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गर्ने भएको हो ।

सो आइपीओमा  पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि मात्रै आवेदन दिन सक्नेछन् । सर्वसाधारणका लागि भने कम्पनीले दोस्रो चरणमा  आवेदन खुलाउने जनाएको छ ।

प्रिमियममा आइपीओ निष्काशन गर्दै हिमालयन रिइन्स्योरेन्स, क-कसले दिन पाउँनेछन् आवेदन ?

कम्पनीले कुल सेयरको १० प्रतिशत अर्थात ३० लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धीत निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्काशन गरेको छ । त्यस्तै २ प्रतिशत अर्थात ६ लाख कित्ता कार्यालयमा कार्यरत कर्मचारीलाई, ५ प्रतिशत अर्थात १५ लाख कित्ता सामुहिक लगानी कोषका लागि र बाँकी २ करोड ४९ लाख कित्ता सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त आइपीओमा न्युनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिने छ । सो आइपीओमा लगानीकर्ताले मंसिर १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले आवेदन दिँदा हिमालयन रिइन्स्योरेन्सको महाराजगञ्ज काठमाडौं, एनएमबि क्यापिटल, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पुर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका तोकिएको शाखा कार्यालय तथा सिडिएसीबाट निर्माण गरिएको सफ्टवेवर मेरो शेयर र सी आस्वा मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।