NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

आज उपत्यकाको सुरक्षामा कडाई, ड्रोनबाट पनि निगरानी

काठमाडौं । एमालेको भ्रातृ संगठन युवा संघ र व्यवसायी दुर्गा प्रसाईं समूहले बिहीबार आयोजना गर्ने प्रदर्शनमा हुन सक्ने सम्भावित तनावलाई मध्यनजर गर्दै सरकारले उपत्यकामा उच्च सुरक्षा सतर्कता अपनाएको छ । सुरक्षाका लागि नेपाल प्रहरीका डिआइजीको नेतृत्वमा जोइन्ट अप्रेसन कमान्ड सेन्टर (जेओसिसी) गठन गरिएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

सेन्टरको संयोजक काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डिआइजी लालमणि आचार्यलाई तोकिएको छ । जसमा सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र सेनाका सात उच्च अधिकारी रहेका छन् ।

संघले तीनकुने र प्रसाईंले बल्खु क्षेत्रमा प्रदर्शन गर्ने तय भएको छ । दुवै क्षेत्रमा सेन्टरकै कमान्डमा सुरक्षाकर्मी परिचालन हुनेछन् । नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका गरि करिब सात हजार सुरक्षाकर्मी फिल्डमा खटिदैछन् । यसबाहेक हेडक्वाटर र उपत्यकाभित्रका तीनवटै जिल्लामातहतका कार्यालयबाटसमेत खटिने गरि करिब १० हजार सुरक्षाकर्मी परिचालित हुनेछन् ।

उपत्यका प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता एसएसपी दिनेश मैनालीले तीनकुने र बल्खुमा हुने प्रदर्शनको सुरक्षार्थ सुरक्षाकर्मी परिचालन भइसकेको र सोही प्रयोजनका लागि डिआइजीको नेतृत्वमा जेओसिसी गठन भएको बताए ।

‘बिहीबार बल्खु र तीनकुनेमा प्रदर्शन हुने तय भएको छ । यसको सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन भइसकेका छन् । डिआइजी लालमणि आचार्यको कमान्डमा कमान्ड सेन्टर गठन गरिएको छ,’ उनले भने, ‘सेन्टरमा सेना, प्रहरी, सशस्त्र र गुप्तचरका उच्च अधिकारी पनि सहभागी छन् । उनीहरूकै कमान्डमा सुरक्षार्थ सुरक्षाकर्मी परिचालन हुनेछन् । सुरक्षाको सबै प्रबन्ध तयार भएको छ ।’

ड्रोनबाट पनि गरिनेछ निगरानी

प्रवक्ता मैनालीले प्रदर्शनको सुरक्षार्थ प्रविधिको समेत उच्चतम प्रयोग गरिने जानकारी दिए । उनका अनुसार प्रदर्शन हुने स्थानको सुरक्षार्थ ड्रोन क्यामेरा परिचालन गरिनेछन् । नारा–जुलुस हुने ठाउँमा पनि ड्रोन क्यामेरा परिचालन हुनेछन् । त्यसबाहेक सडक र चोकमा जडान गरिएका सिसिक्यामेरामार्फत पनि नारा–जुलुस निगरानीमा रहनेछन् ।

उनले भने, ‘दुवै ठाउँमा हुने प्रदर्शनको सुरक्षार्थ प्रविधिको उच्चतम प्रयोग गरिनेछ । कार्यक्रमस्थल ड्रोन क्यामेराबाट निगरानीमा रहनेछ । नारा–जुलुस हुने ठाउँमा पनि ड्रोन क्यामेरा परिचालन गरिनेछ । त्यसबाहेक सडक र चोकमा जडान गरिएका सिसिक्यामेराबाट समेत नारा–जुलुसको निगरानी गरिनेछ ।’

कार्यक्रमस्थलमा र नारा–जुलुसमा सहभागी हुने समर्थकसँगै सादा पोसाकका सुरक्षाकर्मी पनि खटिनेछन् । उनीहरूले प्रत्येक समर्थकको गतिविधि निगरानी गर्नेछन् । अवाञ्छित गतिविधि हुने सुइँको पाउना साथ उनीहरूलाई प्रहरीले पक्राउ गर्नेछ । सूचना संकलनमा राष्ट्रिय अनुसन्धान विभागका गुप्तचार पनि समर्थकसँगै खटिनेछन् । पोसाकसहित खटिएका सुरक्षाकर्मी सुरक्षाका अग्रपंक्तिमा खटिनेछन् । हतियारसहित खटिने उनीहरूले कार्यक्रममा सहभागी हुने भिभिआइपीको सुरक्षा गर्नछन् ।

उपत्यका प्रहरी कार्यालय काठमाडौंका अनुसार सादा पोसाकका सुरक्षाकर्मी बुधबार नै समर्थक बस्ने होटेल, गेस्ट हाउस तथा पार्टी प्यालेसमा खटिइसकेका छन् । उनीहरूले होटेल, गेस्ट हाउस तथा पार्टी प्यालेसमा रहेका प्रदर्शनकारीको सूक्ष्म निगरानी गरिरहेका छन् । सँगै प्रहरीले उपत्यका भित्रिने सबै नाकाको सुरक्षालाई पनि कडा तुल्याएको छ । उपत्यका भित्रिने यात्रुको खनतलासी गर्ने, शंकास्पद व्यक्तिलाई नियन्त्रण गर्नेलगायतका काम प्रहरीले मंगलबारबाटै सुरु गरेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष