NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

एचआइभी संक्रमित आफ्नै खुट्टामा उभिने प्रयासमा 

चितवन । हाम्रो समाजमा एचआइभी सङ्क्रमितलाई हेर्ने दृष्टिकोणमा अझै परिवर्तन आउन सकेको छैन ।

त्यसैले सङ्क्रमित खुल्न सकेका छैनन् । परिवार र समाजले हेला गरेपछि सङ्क्रमित किशोरकिशोरी आफ्नै खुट्टामा उभिनका लागि विभिन्न उपाय खोज्न थालेका छन् ।

माडी नगरपालिका घर भएकी २० वर्षीया अम्बिका सुनार (नाम परिवर्तीत) घरमा हेला भएपछि चार वर्षदेखि दिदीको घरमा बस्दै आएकी छन् । आमाको निधनपछि उनका बुबाले अर्की श्रीमती भित्र्याएदेखि नै सुनारलाई हेला गर्न थालिएको हो ।

आफू ११ वर्षको हुँदा एचआइभी सङ्क्रमण पुष्टि भएको उनी बताउँछन् । सौतेनी आमाको व्यवहारका कारण कक्षा ८ सम्म अध्ययन गरेर पढाइ छाडेकी सुनार अहिले आफ्नै खुट्टामा उभिन सीपमूलक तालिममा लागेकी छन् ।

भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउण्डेसनको सक्रियतामा सुनारले सिलाइकटाइको तालिमसमेत लिएकी छन् । सुरुआतमा गाउँमा नै हुँदा दिदीकोमा गएर सिलाइकटाइको काम सामान्यरुपमा गर्ने गरेको भए पनि अहिले त्यही पेसालाई अपनाउन खोजेको उनले बताइन् ।

सुनारले भनिन्, ‘सङ्क्रमित भनेर हेला गर्छन् । त्यसैले केही गरेर देखाउने इच्छा छ ।’ फाउण्डेसनको सहयोगमा तीन महिने तालिम केही दिन अघि मात्रै सम्पन्न गरेकी सुनार अब दिदीकै घरमा आफ्नै व्यवसाय गरेर बस्ने योजनामा छिन् ।

उनको स्वरोजगरका लागि संस्थाले कपडा सिलाउने मेसिनको व्यवस्था गर्दैछ । समाज परिवर्तन गर्दै अघि बढ्नुपर्ने समय आएको उनले बताइन् । फाउण्डेसनको सहयोगमा १२ वर्षदेखि २० वर्ष उमेरका सङ्क्रमित ३० किशोरकिशोरीले सीपमूलक तालिम लिएका छन् ।

फाउण्डेसनमा हाल नियमित औषधि सेवन गर्ने सङ्क्रमित एक हजार एक सय ५८ रहेका छन् । उनीहरुमध्ये ३८ बालबालिका रहेका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले जानकारी दिए ।

ताजा अपडेट

नेपालवाच विशेष