NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

पनौती आउने पर्यटकलाई सिटी गाइडले सहयोग गर्ने

धुलिखेल । काभ्रेपलाञ्चोकको पनौतीमा घुम्न आउने पर्यटकलाई सिटी गाइडले सहयोग गर्ने भएका छन् ।

यहाँको महत्त्व, ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक पक्षलाई चिनाउनका लागि पर्यटकलाई सहयोग गर्ने उद्देश्यले सिटी गाइडको व्यवस्था गर्न पनौती पर्यटन विकास केन्द्रले आवश्यक पहलकदमी अगाडि बढाएको हो ।

जनशक्ति उत्पादन गर्ने उद्देश्यले नगरभित्रका २२ जनालाई सिटी गाइडसम्बन्धी पाँचदिने प्रशिक्षण दिइएको छ । तालिमको समापनमा पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले यहाँका पर्यटकीय क्षेत्रको पहिचान गराउनुका साथै पर्यटकलाई सहज बनाउने उद्देश्यले सिटी गाइडको व्यवस्था गर्न लागिएको बताए ।

‘सिटी गाइडले पर्यटकलाई यहाँका ऐतिहासक, सामाजिक, सांस्कृतिक क्षेत्रका बारेमा जानकारी गराउने छन्’, उनले भने, ‘पर्यटकसँग गर्ने व्यवहार, पर्यटन क्षेत्रको बजारीकरण तथा यसको विस्तारका लागि आवश्यक पर्ने योजनालगायत काम सिटी गाइडले गर्नेछन् ।’

जुनसुकै क्षेत्रका पर्यटक आए पनि हाम्रो कला, संस्कृति, मठमन्दिर तथा प्राकृतिक सम्पदाको वहिचान गराउँदै यसको संरक्षण र विकासमा उनीहरुले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भण्डारीले बताए । नगरपालिकामा पर्यटन प्रवद्र्धनसम्बन्धी धेरै गुरुयोजना बने पनि त्यो नीति निर्माण तहमा मात्रै सीमित रहेको भन्दै सिटी गाइड तालिम भने कार्यान्वयनमा आएको उनले बताए ।

तालिमका प्रशिक्षक सामाजिक अभियन्ता अनिल चित्रकारले नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको भन्दै पर्यटकलाई सहजीकरण गर्न सके उनीहरु उत्साहित हुने हुँदा पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा सहयोग हुने बताए

। ‘आफ्नो ठाउँलाई समृद्ध बनाउने काममा युवापुस्ताले विवेक र बुद्धि लगाएर मेहनत गर्न आवश्यक छ’, उनले भने, ‘अहिलेको तालिममा सहभागी युवाले पर्यटनका क्षेत्रमा योगदान पु-याउन सक्नेछन् ।’

प्रशिक्षक चित्रकारले पर्यटकलाई स्वागत गर्नेदेखि उनीहरुलाई कसरी आफ्नो ठाउँको महत्त्व, अवस्था र यथार्थपरक जानकारी दिने भन्ने विषयमा गहिराइमा पुगेर सही सन्देश प्रवाह गर्ने काममा केन्द्रित हुन सहभागीलाई आग्रह गरे ।

भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दिपेशराज शर्माले पर्यटन विकासका लागि लोकल गाइडलाई विशेष जोड दिएर स्थानीय महत्त्वका विषयलाई चिनाउन गरिएको पहल उदाहरणीय रहेको बताए । भक्तपुरले प्रवेश शुल्कबाट पर्यटकीय सम्पदाको संरक्षण र प्रवर्द्धनको काम गरिरहेको भन्दै पनौतीले पनि प्रवेश शुल्क निर्धारण गरी व्यवस्थापन गर्नुपर्ने सुझाव दिए।

युवा व्यवसायी जगन्नाथ गिरीले आफ्नो ठाउँको बारेमा पूर्ण जानकारी नभएसम्म पर्यटन क्षेत्रको विकास गर्न नसकिने उल्लेख गर्दै पनौती पर्यटन विकास केन्द्रले मौलिक, संस्कृति, संस्कार र स्थानीय उत्पादनको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए।

केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले युवालाई आफ्नो ठाउँका बारेमा चिनारी दिँदै आम्दानीको स्रोत बनाउन मार्गदर्शन गरिएको बताए । उनले पनौती आउने पर्यटकलाई सुविधा, सहयोग र सहकार्य गरेर काम गर्न सकेको खण्डमा आफ्नो ठाउँको प्रचार हुनुका साथै आम्दानी पनि गर्न सकिने धारणा राखे । उनले पनौती घुम्न आउने पर्यटकको सहजताका लागि छिट्टै ‘पनौती सम्पदा राहदानी’को व्यवस्था गर्ने तयारीमा रहेको जानकारी दिए ।

सहभागीलाई सामाजिक अभियन्ता अनिल चित्रकार र नुवाकोट दरबार स्मारक क्षेत्र संरक्षण हेरचाह प्रमुख सुनिल पाण्डेले प्रशिक्षण दिएका थिए ।