मदन भण्डारी राजमार्ग : झापा-सुनसरी खण्डका ३७ पुलमध्ये १४ वटाको निर्माण सम्पन्न

झापा । मदन भण्डारी राजमार्गअन्तर्गत झापा–सुनसरी खण्डमा पर्ने ३७ पुलमध्ये १४ वटाको निर्माण सम्पन्न भएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका प्रमुख गोपालप्रसाद खकुरेलका अनुसार बाँकी रहेका अधिकांश पुलको समेत मूल संरचनाको काम सकिएको छ । उनले निर्माण सम्पन्न पुल ४० देखि चार सय मिटर दूरीसम्मका रहेको जानकारी दिए ।
हालसम्म मोरङ, सुनसरी, झापा र इलामका खोलाका पुलको निर्माण सकिएको छ । डाले, मुगु, खुदुम, मोरङे, नुसारी, सुखानी सहादत्तस्थल, बुद्धि सुखानी, सुखानी खोला, टाङटिङ, बयङ्ग, तेली, विजुवा, बुकुवा, रतुवालगायतका खोलाको पुल निर्माण सम्पन्न भएको उनले बताए । यसमध्ये सबैभन्दा लामो खुदुम खोलाको चार सय मिटर, तेली खोलाको तीन सय मिटर र सबैभन्दा छोटो डाले र बुकवा खोलाको ४० मिटर दूरीका पुल निर्माण भएका छन् ।
उनले कतिपय पुलको मूल संरचना सकिए पनि रुख कटान अनुमति लिने झन्झटिलो प्रक्रियाले एप्रोच सडक निर्माण गर्न समस्या भएको बताए । कार्यालय दमकका प्रमुख खकुरेलले बाहुनडाँगीबाट सुनसरीस्थित धरानको सर्दुखोलासम्मको एक सय ३१ किलोमिटर सडक निर्माण हुँदै गरेको बताए ।
उनले भने, “सबै पुलको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ, तर बजेट अभावमा काम तीव्रगतिमा हुनसकेको छैन ।” उनले रु १० अर्ब १३ करोड लागतमा एक सय ३१ किलोमिटर सडक र ३७ पुलको ठेक्का लगाइए पनि सम्झौता गरिएका अधिकांश योजनाको भुक्तानी गर्न अझै रु तीन अर्ब ५० करोड बाँकी रहेको बताए ।
सरकारले चालु आर्थिक वर्षमा रु ५० करोडमात्र सो राजमार्गका लागि बजेट विनियोजन गरेको छ । सो बजेट बमोजिमको निर्माणकार्य सकिएकाले हाल सरकारलाई थप बजेटका लागि पत्रसमेत पठाएर पहल गरिरहेको उनको भनाइ छ ।
ताजा अपडेट
-
अन्नपूर्ण क्षेत्रमा पदयात्री पर्यटकको चहलपहल बढ्याे
-
वीरगञ्ज नाकाबाट एक खर्ब २२ अर्बको पेट्रोलियम पदार्थको आयात
-
‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराएको पुष्टि, परीक्षा गार्ड निष्कासन
-
नेपाल लाइफद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक
-
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा २०८२ सालको भित्तेपात्रो सार्वजनिक
प्रतिक्रिया