देउवाको भाषणले भुटानी शरणार्थी प्रकरणका मुद्दाका पीडितहरू त्रस्त !

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको भाषणले नक्कली भुटानी शरणार्थीसम्बन्धि मुद्दाका पीडितहरु त्रस्त बनेका छन् । देउवाले मंगलबार बुटवलमा सञ्चारकर्मीसँग बोल्दै सो मुद्दामा थुनामा रहेका आफ्ना नेता बालकृष्ण खाणले न्याय पाउनेमा आफु आशावादी रहेको बताएका छन् ।
अदालतमा विचाराधनी मुद्दालाई प्रभावित पार्ने उदेश्यले यस्तो बोलेको पीडितहरुको आशंका छ । सो मुद्दामा हाल उच्च अदालतमा निरन्तर सुनुवाई भइरहेको छ । पटक पटक पेशी सारेर मुद्दाको आफु अनुकुल फैसला गराउन दबाब दिइरहेको समेत चर्चा भइरहेका बेला देउवाको यस्तो भाषण आएको छ । जसले गर्दा पीडितहरु त्रसित भएका छन् । खाण छुटे आफुहरु असुरक्षित हुने र पैसा पनि फिर्ता पाउने सम्भावना कमजोर हुने एक पीडित बताउँछन् ।
मुद्दाको फैसला नहुँदासम्म मुख्य अभियुक्तहरूलाई थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध ५ मंसिरदेखि उच्च अदालत पाटनमा सुनुवाई चलिरहेको छ । जिल्लाको आदेशविरुद्ध १६ जना उच्च अदालत गएका छन् । त्यस्तै, धरौटीमा छुटेका दुई जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले पनि उच्चमा गएको छ ।
पूर्वमन्त्रीद्वय बालकृष्ण खाण, टोपबहादुर रायमाझी, पूर्वगृसचिव टेकनारायण पाण्डे, पूर्वसभासद् आङटावा शेर्पा, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज कमिटीका पूर्वअध्यक्ष शमशेर मियाँ, तत्कालिन गृहमन्त्रीका सल्लाहकार इन्द्रजित राई थुनामा छन् । खाणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुरका छोरा सन्दीप, बिचौलियाहरू केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, रामशरण केसी, गोविन्द चौधरी, हरिभक्त महर्जन र सागर राई जेलमै छन् । उनीहरु जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगेका छन् । यो मुद्दामा पक्राउ परेकामध्ये केशब तुलाधर, टंक गुरुङ र लक्ष्मी महर्जन भने धरौटीमा छुटेका थिए । तुलाधर र गुरुङलाई पनि थुनामै राख्नुपर्ने मागसहित सरकारी वकिल उच्च अदालत गएको हो ।
यो मुद्दामा प्रहरीले दोस्रो चरणको अनुसन्धान गरिरहेको छ । जसमा अनुसन्धान प्रभावित पार्न यसअघिका अनुसन्धानमा संलग्न प्रहरी अधिकारीलाई हटाइएको थियो ।
प्रतिक्रिया