NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

हुम्लामा खाद्यान्न अभाव : सहरमै थन्कियो दुर्गमको चामल

सिमकोट । समयमै ढुवानी नहुँदा हिमाली जिल्ला हुम्लामा खाद्यन्न अभाव देखिएको छ । ढुवानीको जिम्मा पाएका सप्लायर्स कम्पनी र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको लापारबाहीका कारण यहाँ खाद्यान्न अभाव भएको हो ।

लिमिटेडको सिमकोट शाखामा  दुई महिना यतादेखि खाद्यान्न अभाव हुँदै आएको छ । आर्थिक वर्ष २०८०/८१ मा हुम्लाका लागि १४ हजार क्विन्टल चामल स्वीकृत गरिए पनि हालसम्म ढुवानी हुन नसक्दा यहाँको गोदाम रित्तिएको छ ।

स्थलमार्गबाट चार हजार क्विन्टल र हवाई मार्गबाट १० हजार क्विन्टल ढुवानीका लागि सम्झौता भए पनि सप्लायर्सहरूले समयमै ढुवानी गर्न नसकेको सिमकोट शाखा प्रमुख कृष्ण अधिकारीले बताए । स्थलमार्गबाट तीन हजार क्विन्टल चामल ढुवानीको जिम्मा पाएको एलबी सप्लायर्सले अहिलेसम्म ढुवानी गरेको छैन । एक हजार क्विन्टल चामल ढुवानीको जिम्मा पाएको चाङला ढुवानी सेवाले एक सय ४८ क्विन्टल मात्रै उठाएको छ । साउनमा ढुवानीका लागि बोलपत्र आह्वान गरेर भदौदेखि  ढुवानी हुनुपर्ने खाद्यान्न हालसम्म सप्लायर्सले ढुवानी गर्न सकेका छैन । लिमिटेडले भदौ महिनामा मात्र ढुवानीका लागि बोलपत्र आह्वान गरेको थियो । हाल गोदामा रहेको कम परिमाणको खाद्यान्न पनि बिक्री गर्न सक्ने अवस्थामा नरहेको उनले जानकारी दिए  ।

खाद्यान्न ढुवानी नहुँदा र नागरिकलाई वितरण गर्न नसक्दा आफूलाई रातभर निद्रासमेत नलाग्ने गरेको उनले बताए । यहाँ एक पटक खाद्यान्न सर्वसाधारण, बजारवासी र कर्मचारीलाई बिक्री तथा वितरण गर्दा दुई हजार पाँच सय क्विन्टल आवश्यक पर्छ । भैपरी आउने कार्य जन्म, मृत्यु र कैदीबन्दीलाई पनि अब चाँडै ढुवानी नभए वितरण गर्न नसकिने अवस्था छ । अहिले ढुवानीका लागि सप्लायर्स सिम्रिक एयरको हेलिकोप्टर छनोट भएर सम्झौता मात्र भएको तर उक्त एयरलाइन्सले खाद्यान्न बुझेर ढुवानी गर्ने काम अगाडि नबढाएका कारण जिल्लामा खाद्यान्न समस्या देखिएको हो । सिम्रिक एयर हेलिकोप्टर लिमिटेडले हवाई मार्गबाट १० हजार क्विन्टल चामल ढुवानी गर्ने जिम्मा पाएको छ । सिमकोट शाखाका लागि सुर्खेतबाट छ हजार क्विन्टल र नेपालगञ्जदेखि सिमकोटसम्म चार हजार क्विन्टल गरी १० हजार क्विन्टल चामल ढुवानी गर्ने जिम्मा पाएको हो । नेपालगञ्जबाट सिमकोटका लागि प्रतिकेजी रु एक सय ४३ र सुर्खेतबाट सिमकोटका लागि प्रतिकेजी एक रु सय ३७ रुपैयाँका दरले सम्झौता भएको थियो ।

सहरमै थन्किए ढुवानी हुने चामल

हालसम्म राष्ट्रिय सडक सञ्जालले छुन नसकेको हुम्लाको सदरमुकाम सिमकोट शाखामा पुग्नुपर्ने चामल सिम्रिक एयरले ढुवानी नगर्दा नेपागलञ्ज र सुर्खेतमै थन्किएका छन् ।

यसैगरी स्थलमार्गबाट तीन हजार क्विन्टल चामल ढुवानीको जिम्मा पाएको एलबी सप्लायर्सका प्रोपाइटर लोकेन्द्र भण्डारीले अहिलेसम्म ढुवानीमा चासो देखाएका छैनन । स्थलमार्गबाटै एक हजार क्विन्टल चामल ढुवानी गर्नुपर्ने चाङला ढुवानी सेवाले पनि हालसम्म खाद्यान्न ढुवानी गरेको छैन । स्थलमार्गबाट नेपालगञ्ज हुँदै हुम्लाको सिमकोटसम्म प्रतिकेजी  ४० रुपैयाँ ६८ पैसा, सुर्खेतबाट स्थलमार्ग हुँदै सिमकोटसम्म रु ३९, धनगढीदेखि सिमकोटसम्म  ४२ रुपैयाँ ९४ पैसा र राजापुर बर्दियादेखि सिमकोटसम्म  ४१ रुपैयाँ ८१ पैसामा ढुवानी गर्न सम्झौता गरेको पाइएको छ ।

दुई महिनादेखि  चामल पाइएन

समयमै खाद्यान्न ढुवानी नहुँदा दुई महिना यतादेखि नियमित कोटाको पाउनुपर्ने चामल नपाइएको सिमकोट गाउँपालिका–७ डाडाँफयाका वीरबहादुर सिंहको गुनासो थियो । उक्त लिमिटेड र ढुवानीको जिम्मा पाएका सप्लायर्सले ढुवानीमा बेवास्था गर्दा सङ्कट निम्तीनुका साथै खाद्यान्न नपाएको उनले  बताए । सिंहले भने, ‘नागरिकले चामल पाउन कहिले नागरिकतासमेत पेस गर्नुपर्छ त कहिले महिनौँ दिनसम्म यस्तै समस्या भोग्नुपर्छ ।’ जिल्लाका राजनीतिक दलले चामलमा राजनीति गर्छन्  तर जनताको समस्या कहिल्यै बुझ्न नसकेको उनको गुनासो थियो, यस्तै सदरमुकामवासीलाई झन थप समस्या निम्तिएको छ । सिमकोट शाखाले गोदाम रित्तै हुँदा खाद्यान्न वितरण गर्न नसकेपछि सदरमुकाम सिमकोटमा बस्दै आएका विद्यार्थी, होटेल व्यवसायी, कर्मचारी, सर्वसाधरण र सिमकोट तल्लो गाउँ र माथिल्लो गाउँका नागरिकलाई थप समस्या भएको छ । सिमकोट तल्लो गाउँ र माथिल्लो गाउँका बासिन्दाको खेतीपाती कम हुने र सधैँ किन्नुपर्ने खाद्यान्नको भरपर्नुपर्ने भएका कारण उनीहरुलाई समस्या निम्तिएको हो ।

यस्तै मासिक १५ केजी चामल प्रतिव्यक्ति पाउने सदरमुकामका कर्मचारीले समेत पाउन सकेका छैन् । कोटाको चामल नपाउँदा कर्मचारीले बजारमा महँगो मूल्य तिरेर खदिर गर्नुपर्ने बाध्यता छ । सिमकोट शाखाको गोदाम खाली भएपछि उपभोक्ता खाली हात फिर्ताजान बाध्य भएका छन् । हुम्लाका दुईवटा डिपो र चारवटा बिक्री केन्द्रमा पनि खाद्यान्न छैन । याल्वाङ र लिमी बिक्री केन्द्रबाहेक अरू बिक्री केन्द्रमा चामल पुग्न सकेको छैन् ।