NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

डुम्रे-बेँसीसहर-चामे सडक स्तरोन्नतिको काम ७० प्रतिशत

डुम्रे । डुम्रे-बेँसीसहर-चामे सडकको स्तरोन्नतिको काम भइरहेको छ । यस सडकको प्रवेश नाकाका रुपमा रहेको तनहुँको भानु नगरपालिका क्षेत्रमा स्तरोन्नतिको काम भइरहेको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ ।

सो योजनामध्ये तनहुँ खण्डमा कालोपत्रको काम भइरहेको डुम्रे-बेंसीसहर-चामे सडक योजना कार्यालयका सूचना अधिकारी पुरुषोत्तम अधिकारीले जानकारी दिए । दुई लेनको यस सडक योजनाको ७० प्रतिशत सडक कालोपत्र गरिएको उनले बताए ।

भानु-३, खहरे तथा चाम्बास क्षेत्रमा कालोपत्र गरिसकिएको अधिकारीले बताए । भानु-१ भन्सार तथा नगरपालिकाको कार्यालय क्षेत्रमा कालोपत्रका लागि सम्याउने र पुरानो कालोपत्र हटाउने काम भइरहेको उनले बताए । असार मसान्तसम्ममा कालोपत्र सकिने गरी काम भइरहेको उनले बताए ।

खहरेका केही स्थानमा साना पुल र घुम्ती क्षेत्रमा ‘लेबल’ मिलाउने कार्य भइरहेको सडक योजनाले जनाएको छ । उनले भने, ‘केही स्थानमा कालोपत्रका लागि तयारी भइरहेको छ, केही स्थानमा ‘लेबलिङ’को काम भइरहेको छ, यतिबेला कामले गति लिएको छ ।’

यस सडक खण्डको डुम्रेदेखि चाम्बाससम्म आठ किलोमिटर सडक कालोपत्र गरिने अधिकारीले बताए। कूल आठ किलोमिटरमध्ये साढे चार किलोमिटर एकपत्र कालोपत्र सकिएको र दुई किलोमिटर दुईपत्र कालोपत्र गरिसकिएको उनले जानकारी दिए । उनका अनुसार अन्य क्षेत्रमा नाला निर्माण र पर्खाल निर्माणको काम भइरहेको छ ।

एम/एस आशिष अनेस्ट जेभी भरतपुर चितवनले यस योजनाको निर्माणको जिम्मा पाएको छ । विसं २०७८ वैशाख २२ मा ठेक्का सम्झौता भई विसं २०७८ वैशाख २९ मा सडक स्तरोन्नतिको कार्य प्रारम्भ भएको थियो । विसं २०८० कात्तिक २२ मा यस सडक खण्डको कालोपत्र सम्पन्न गर्ने गरी रु ३८ करोड नौ लाख ८६ हजार चार सय ९२ मा ठेक्का सम्झौता गरिएको थियो । सम्झौताको मितिसम्म सडक स्तरोन्नतिको काम गरिसक्नुपर्ने भए पनि पूरा भने भएन ।

यस योजनाको ३० प्रतिशत सडक खण्डको कालोपत्रको काम नसकिँदै ठेक्का सम्झौता सकिएको थियो । ठेक्का सम्झौताको मिति सकिँदासम्म ७० प्रतिशत मात्रै काम सकिएपछि समय थप गरिएको अधिकारीले जानकारी दिए ।

उनले भने, ‘सम्झौताको मिति सकियो, तर कालोपत्र सकिएन, काम पूरा गर्न असार मसान्तसम्मका लागि समय थपिएको छ ।’ करिब ३० प्रतिशत काम पूरा गर्न अझै बाँकी रहेको उनले बताए ।

यो सडक खण्ड हिमाली जिल्ला मनाङको मेरुदण्डको स्थलमार्गका रुपमा रहेको छ । तनहुँतर्फको काम तीव्र भइरहेको छ भने लमजुङ र मनाङतर्फका सडक खण्डको पनि स्तरोन्नतिको काम भइरहेको सो कार्यालयले जनाएको छ । यस सडक खण्डको तनहुँतर्फ कालोपत्र सकिएपछि सहज रुपमा यात्रा गर्न सकिने जनाइएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष