NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

चौथो सातामा ‘दिमाग खराब’

काठमाडौं । नेपाली चलचित्रको कथ्य शैली, पात्रको स्वरूप, निर्माण शैली (मेकिङ) लगायतमा परिवर्तन ल्याउने चलचित्र ‘लुट’ मार्फत निर्देशनमा स्थापित भएका निर्देशक निश्चल बस्नेत निर्देशित चलचित्र ‘दिमाग खराब’ चौथो सातामा प्रदर्शनरत छ ।

गत कात्तिक २४ गतेदेखि प्रदर्शन भइरहेको चलचित्रले घरेलु बजारमा राम्रो व्यापार गरिरहेको निर्माता रौनकविक्रम कँडेलले जानकारी दिए । “चलचित्रलाई दर्शकले नै सिफारिस गरेपछि चलचित्र सफल भएको हो । यसको घरेलु व्यापारसँगै विदेशमा भइरहेको प्रदर्शनले हामी खुसी छौँ”, निर्माता कँडेलले भने ।

निर्देशक बस्नेतले आममानिस र शक्तिमा रहेको मानिसबीचको भिन्नतालाई चलचित्रमा देखाउने कोशिस गरेको जानकारी दिए । “म आम मानिसकै कथा भन्न रुचाउँछु । त्यसैले गर्दा केही ढिलाइ भयो होला, तर त्यो तयारीको समय थियो”, निर्देशक बस्नेतले भने, “मेरो कोसिस रमाइलोसँगै राम्रो चलचित्र बनाउने हुन्छ । यसपटक पनि त्यहीँ प्रयास गरेँ । देशको परिस्थितिले एउटा सरल जीवन चाहने आममानिसको दिमाग खराब गरिरहेको सन्दर्भ चलचित्रमा छ ।”

उनले चलचित्रमा एउटा साधारण मान्छेको जीवनशैली, दायित्व र उतारचढावलाई देखाइएको बताए । चलचित्रमा दयाहाङ राई, स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, अर्पण थापा, सुमन कार्की, विजय बराललगायतका कलाकारले अभिनय गरेका छन् ।