NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

पुन : सञ्चालनमा आयो नारायणीमा क्रुजसिप

नवलपुर । गत असारबाट नारायणी नदी किनारमा बन्द अवस्थामा रहेको नेपालकै पहिलो क्रुजसिप आजदेखि पुनः सञ्चालनमा आएको छ ।

मनसुन भित्रिएसँग नारायणी नदीमा आएको बाढीका कारण बन्द भएको क्रुजसिप आजदेखि नियमित सञ्चालनमा ल्याइएको राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले जनाएको छ ।

प्रालिका कार्यकारी निर्देशक दीपक ढुङ्गेलका अनुसार क्रुजसिप नियमित सञ्चालनमा आएसँगै आजदेखि दैनिक तीन ‘सिफ्ट’मा यात्रुलाई सेवा प्रदान गरिएको छ । एउटा टिकटमा एक व्यक्तिले एक घण्टा क्रुजमा यात्रा गर्न पाउने उल्लेख गर्दै उनले क्रुजभित्र नै रेष्टुरेन्टसहितको सुविधा भएको जानकारी दिए।

‘दुई घण्टाको फरकमा क्रुजसिपबाट सेवा प्रदान गर्नेछौँ’, उनले भने, ‘क्रुजसिपबाट नियमित सञ्चालन गरिने सेवाका साथै ‘इभेन्ट क्रुज’ र ‘डिनर क्रुज’ पनि सञ्चालन गरिनेछ ।’ सेवाग्राहीको मागअनुसार इभेन्ट क्रुजको सेवा प्रवाह गरिने जनाउँदै उहाँले यसमा विवाहको पार्टी, जन्मदिन, बैठक तथा सेमिनारलगायतका लागि प्याकेज राखिएको बताए।

एकपटकमा एक सय ५० जनासम्मलाई ‘क्रुजिङ’को सेवा प्रदान गर्न सकिने भन्दै उनले म्युजिक भिडियो सुटिङ, फिल्म सुटिङ, फोटोसहितका विभिन्न सेवा पनि क्रुजसिीपबाट उपलब्ध गराइने जानकारी दिए । डिनर क्रुज तथा इभेन्ट क्रुजमा सेवाग्राहीको मागअनुसार सेवा सुविधा उपलब्ध गराइने जनाउँदै उहाँले नियमित क्रुजमा भने रेष्टुरेन्टको सुविधा रहेकाले यात्रुहरुले बजारकै मूल्यमा खाजा तथा पेयपदार्थ पाउने बताए ।

क्रुजसिप सञ्चालक संस्था राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका व्यवस्थापक विक्रम बस्यालले क्रुजले हिउँदे ‘अफर’ जारी गर्दै केही समयका लागि यात्रुलाई क्रुजिङको शुल्कसमेत घटाएको बताए । उनका अनुसार क्रुजमा यात्रा गर्नका लागि प्रतिव्यक्ति रु तीन सय ५० शुल्क निर्धारण गरिएको छ भने पाँचदेखि १० वर्षसम्मका बालबालिकाका लागि यो शुल्क रु दुई सय तोकिएको छ ।

‘पाँच वर्षमुनिका बालबालिका तथा ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई भने क्रुजसिपले आफ्नो नियमति क्रुजिङमा निःशुल्क सेवा उपलब्ध गराउनेछ’, बस्यालले भने ।

विसं २०७९ माघ १ गतेदेखि सञ्चालनमा आएको क्रुजसिप नेपालकै पहिलो र एकमात्र क्रुजसिप भएको बस्यालको भनाइ छ । उनका अनुसार क्रुजसिप सञ्चालन भएकै वर्ष नेपालको पूर्वदेखि पश्चिमसम्मका यात्रुले सेवा लिएका छन् । गएको याममा प्रतिदिन सरदर एक सय ५० जनाले क्रुजसिपमा यात्रा गर्ने गरेको बस्यालले जानकारी दिए ।

दुई तला र एउटा तीन सय ६० डिग्री अवलोकन स्थल रहेको क्रुजको पहिलो तल्लामा कार्यक्रम गर्ने मञ्चसहितको ६० जना क्षमता रहेको बस्यालले बताए । उनका अनुसार क्रुजको दोस्रो तल्लामा ८० जना क्षमता तथा तीन सय ६० डिग्री अवलोकन स्थलमा १० जना अटाउने क्षमता रहेको छ ।

क्रुजसिप सञ्चालनका लागि कम्पनीले पवित्र धार्मिकस्थल देवघाटबाट गोलाघाटसम्मको अनुमति पाएको भए पनि अहिले एकतर्फी एक किलोमिटर मात्रै सञ्चालन हुँदै आएको छ । नारायणी नदीमा बग्ने पानीले गरेको धार परिवर्तनका कारण तथा नदीजन्य पदार्थ उत्खनन्का लागि क्रुजसिपले आफ्नो पूरा क्षमतामा यात्रा गराउन नसकेको कार्यकारी निर्देशक ढुङ्गेलले बताए ।

भरतपुर महानगरपालिका–१६ को काप्रेघाटमा स्टेशन रहेको क्रुजसिप सञ्चालनपछि नवलपुर र चितवनको पर्यटन प्रवद्र्धन हुँदै आएको होटल व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष दिनेशकुमार चुकेले बताए ।

अहिले सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष भनेर घोषणा गरिएको अवस्थामा पुनःसञ्चालनमा आएको क्रुजसिपले नवलपुरमा समेत पर्यटकलाई आकर्षण गर्न भूमिका खेल्ने उहाँको भनाइ छ । नारायणी नदीलाई एकै ठाउँबाट बग्ने वातावरण सिर्जना गरेर क्रुजसिपलाई देवघाटदेखि गोलाघाटसम्म नै सञ्चालन गराउने सकेमा नवलपुर, चितवन र तनहुँको धार्मिक तथा जल पर्यटनमा कायापलट हुने चुकेको भनाइ छ ।

नवलपुरको गैँडाकोटमा रहेको द नारायणी रिसोर्टका सञ्चालक वसन्त पराजुलीले क्रुजसिपका कारण नदी किनारका होटल व्यवसायमा पर्यटकको सङ्ख्यामा वृद्धि हुने बताए । ‘यसअघि क्रुज सञ्चालन हुँदा पनि क्रुजमा यात्रा गर्ने मानिस हाम्रा होटलमा आएर बस्ने गर्नुहुन्थ्यो’, उनले भने, ‘क्रुजसिप नारायणी नदीमा सञ्चालन हुने कारण यसले चितवनको मात्रै नभएर नवलपुरको पर्यटन प्रवद्र्धनमा समेत ठूलो सहयोग पु-याएको हामीले पाएका छौँ ।’

ताजा अपडेट

नेपालवाच विशेष