NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

एनसेलबारे छानविन गर्न बनेको समितिले थाल्यो काम, कोसँग के विवरण माग्यो ?

काठमाडौं । एनसेलको सेयर खरिद विक्री प्रकरणबारे छानबिन गर्न बनेको समितिले काम सुरु गरेको छ । समितिका अध्यक्ष तथा पूर्व महालेखापरीक्षक टंकमणि शर्माले समितिले पहिलो, दोस्रो र तेस्रो चरणमा काम विभाजन गरेको छ ।

पहिलो चरणमा सूचना संकलन गर्ने, दोस्रो चरणमा प्राप्त सूचनाको विश्लेषण तथा ‘भेरिफिकेसन’ गरेर तेस्रो चरणमा प्रतिवेदन बुझाउने समितिको तयारी छ । समितिलाई पुस २० गतेसम्म अध्ययन प्रतिवेदन बुझाउनुपर्ने कार्यादेश छ ।

सोहीअनुसार पहिलो चरणमा सूचना माग गर्ने काम सुरु भएको उनले जानकारी गराए ।

समितिले नेपाल राष्ट्र बैंक, दूरसञ्चार प्राधिकारण, धितेपात्रो बोर्ड, उद्योग मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयसँग सूचना माग गरिसकेको छ । जसअनुसार कम्पनी रजिष्ट्रारको कार्यालयसँग एनसेलको सेयर लगत, अनुमति, सेयर बेचविखनलगायतका विवरण माग गरिएको छ । त्यस्तै, राष्ट्र बैंकसँग एनसेलले हालसम्म कति विदेशी मुद्रा सटही गर्यो भन्ने विवरण मागिएको छ ।

समितिले प्राधिकरणसँग एनसेलको सम्पूर्ण वित्तीय विवरण, कर चुक्ता, आजियाटासँग सेयर खरिद विक्री गर्दाको सम्झौता, सुरुमा अनुमति दिँदाको शर्त, शर्त पालनाको स्थिती, शर्त पालना नगर्दा गरेको कारवाही, त्यसमा एनसेलले दिएको प्रतिक्रिया, अहिलेसम्म भएका गतिविधिमा प्राधिकरणको धारणा माग गरेको छ ।

मंगलबारमात्रै समितिले प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालसहित सञ्चालक समितिका सदस्यहरुलाई बोलाएर छलफल गरिसकेको छ । शर्माका अनुसार अन्य सरोकारवालाहरूसँग पनि छलफल गर्ने प्रक्रिया अघि बढाइएको छ ।

एनसेलको ८० प्रतिशत सेयर खरिद रहेको संस्था आजियाटा बाहिरिने घोषणा गरेसँगै सरकारले यसबारे छानविन गर्न अध्ययन समिति गठन गरेको हो । गत १५ मंसिरमा एनसेलको सेयर खरिद गर्ने सम्झौता सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडसँग भएको थियो । नेपाली मूलका आचार्य सिंगापुर बस्दै आएका छन् ।

६ अर्ब ६५ करोड अर्थात् ५० मिलियन डलरम खरिद बिक्री भएको भनी विज्ञप्ती निकालेपछि यो कारोबार अविस्वसनीय र शंकास्पद रहेको भन्दै सरकारले छानविन थालेको हो ।