NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

मुग्लिन-पोखरा सडक : आँबुखैरेनीमा थप साढे तीन किलोमिटर कालोपत्र

दमौली । मुग्लिन-पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनीमा थप साढे तीन किलोमिटर खण्ड कालोपत्र भएको छ । मुग्लिन-पोखरा सडक विस्तार योजना पूर्वी खण्डले आँबुखैरेनी–३ मा सडक कालोपत्र भएको हो ।

योसहित पूर्वी खण्डमा हालसम्म १२ दशमलव पाँच किलोमिटर एकतर्फी कालोपत्र सकिएको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । गत मङ्सिर २२ गते आँबुखैरेनी–३ गाउँपालिकाचोकबाट पहिले कालोपत्र भइसकेको मार्कीचोकसम्म थप कालोपत्रको काम अगाडि बढाइएको थियो ।

उनले भने, ‘यसअघि बरादीबाट मार्कीचोकसम्म कालोपत्र भइसकेको खण्डमा गाउँपालिका चोकबाट कालोपत्र जोडिएको छ । अब अर्कोतर्फ कालोपत्रको काम अगाडि बढाउने तयारी गरिएको छ ।’

यसअघि आँबुखैरेनी–१ सत्रसयबाट सुरु गरेर मार्किचोकसम्म तीन दशमलव पाँच र बन्दीपुर गाउँपालिका–१ नाहालबाट छिर्कनेसम्म पाँच दशमलव पाँच किलोमिटर खण्ड एकतर्फी कालोपत्र भइसकेको छ । उनले भने, ‘दुई ठाउँमा एकतर्फीरूपमा १२ दशमलव पाँच किलोमिटर खण्ड कालोपत्र सकिएको छ । केही समयपश्चात अर्कोतर्फ पनि कालोपत्रको काम हुनेछ ।’

पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा हालसम्म ४२ प्रतिशत काम सकिएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको उक्त खण्ड ४१ दशमलव पाँच किलोमिटर दूरीको छ ।

आँबुखैरेनीबाट जामुनेसम्मको खण्डमा काम तीव्रगतिमा अगाडि बढेको पाण्डेको भनाइ छ । पूर्वी खण्डमा सडक फराकिलो बनाउने, पक्की पुल तथा कल्भर्ट निर्माणको कामले पनि गति लिएको छ । राजमार्ग विस्तारका लागि पूर्वी खण्डमा घरटहरा हटाउने काम चलिरहेको छ । यो खण्डमा छ सय ३१ घरटहरा भत्काइनेछ । त्यसका लागि रु २२ करोड ४५ लाख मुआब्जा वितरण गरिनेछ ।

पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१ दशमलव ४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ ।

पश्चिम खण्डअन्तर्गत जामुनबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ । पश्चिम खण्डको काम भने १२ प्रतिशत मात्रै सकिएको बताइएको छ ।

विसं २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।

चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५–२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।