NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

अब घाम नलाग्दा पनि जुम्लामा फोन लाग्छ

जुम्ला । तपाईलाई यो समाचार पढ्दा कस्तो लाग्छ कमेन्ट गर्नुहोला । किनभने यो समाचार तपाईले अपेक्षा गरेको भन्दा फरक जिवनशैलीका बारेमा लेखिएको छ । यो समाचारले हाम्रो विकासको अवस्था झल्काउँछ । दुर्गम गाउँको चित्र यसमा देखिन्छ । सन्दर्भ हो, जुम्लाको हाँकुमा रहेको टेलिफोन टावरमा विद्युत जोडिएको ।

जुम्लाको तातोपानी गाउँपालिका–४ हाँकुमा रहेको नेपाल टेलिकमको टावर यसअघि सोलार प्यानलबाट संचालन हुँदै आएको थियो । जहाँ स्थापना भएको टेलिफोन टावरबाट घाम लागेको समयमा मात्रै टेलिफोनको नेटवर्क प्रवाह हुन्थ्यो । जसले गर्दा टेलिफोन टावरकै छेउमा बसेर पनि आपतकालिन अवस्थामा फोन सम्पर्क गर्न असम्भव थियो ।

अब भने विद्युत जोडिएपछि स्थानीयवासीलाई फोन गर्न सहज भएको छ ।

यो समस्या हाँकुको मात्र होईन । माथिल्लो कर्णालीका धेरैजसो टेलिफोन टावर सौर्य उर्जा प्रणालीबाट सञ्चालित छन् । घाम लागे मात्रै टेलिफोन टावर सञ्चालन हुन्छन् । नत्र हुँदैन । हातमा स्मार्ट मोवाइल सेट भए पनि नेटवर्क नहुँदा फोन गर्न सम्भव हुँदैन ।

हाँकुका वासिन्दाहरुले यस्तै समस्या झेल्दै आइएकामा अहिले उक्त टावरमा विद्युत जोडिएपछि जुनसुकै बेला पनि टेलिफोन सेवा सञ्चालन हुन थालेको वडाध्यक्ष अमरबहादुर रोकायाले बताए ।

यसअघि त्यो टावरमा सोलार प्रणाली जडान हुँदा विहान ७ बजेदेखि बेलुका ६ बजे घाम हुदासम्म मात्रै टेलिफोन सेवा सञ्चालन हुने गरेको थियो । वडाध्यक्ष रोकायाले भने, ‘टेलिफोन नेटवर्क नहुने समस्याबाट मुक्त हुन टावरमै विद्युत लाइन पु-याइएपछि सहज भएको छ । अब गाउँमा २४ सै घण्टा टेलिफोन सेवा सञ्चालन हुनेछ ।’

टावरमा विद्युत लाइन पु¥याएपछि यो क्षेत्रका गिडिखोला, पर्थेनी, नियापानी, पाण्डेबाडा, हाँकु, गौतमवाडा, ऐरेनी र चन्दननाथ नगरपालिकाका उमगाड, जातिभिड, कोटिला, रोकायावाडालगायत गाउँमा राति पनि नेटवर्क आउने गरेको छ ।

उक्त टावरबाट फोरजी इन्टरनेट सेवा वितरण भइरहेको वडाध्यक्ष रोकायाले बताए ।