NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

काठमाडौं विश्वविद्यालय र नेपाल प्रहरी अस्पतालबीच सहकार्य गर्नेसम्बन्धी समझदारी

काठमाडाैं । काठमाडौं विश्वविद्यालय र नेपाल प्रहरी अस्पतालबीच चिकित्साशास्त्र अध्ययनमा सहकार्य गर्ने समझदारी भएको छ । सोमबार विश्वविद्यालयको केन्द्रीय परिसर, धुलिखेलमा आयोजित एक कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा तथा नेपाल प्रहरीका महानिरिक्षक बसन्त कुँवरले हस्ताक्षर गरे ।

समझदारी अनुसार दुवै पक्षले चिकित्सा तथा सम्बन्धित क्षेत्रमा शिक्षा, अनुसन्धान, तथा तालिम आयोजना गर्ने, विशेषज्ञ तथा प्राज्ञिक जनशक्ति आदान प्रदान गर्ने, शैक्षिक कार्यक्रम विकास गर्ने आदि कार्य गर्नेछन् । समझदारी पाँच वर्षका लागि मान्य हुनेछ ।

समझदारी हस्ताक्षर कार्यक्रममा बोल्दै विश्वविद्यालयका उपकुलपति प्रा. डा भोला थापाले काठमाडौं विश्वविद्यालय र नेपाल प्रहरीबीचको सहकार्यले नेपालको चिकित्साक्षेत्र सुदृढ बनाउनमा उल्लेखनीय सहयोग पुग्ने बताए ।

‘नेपालमा २०७२ सालको भूकम्प र कोभिड महामरीका बेला स्वास्थ्यकर्मीको महङ्खव झन् उजागर भयो । अब प्रविधिको व्यापक प्रयोग गर्दे नेपालको चिकित्सा क्षेत्रलाई झनै चुस्त बनाउनुपर्ने आवश्यकता छ । त्यसतर्फ आजको सहकार्यले विशेष भूमिका खेल्नेछ,’ थापाले भने ।

विश्वविद्यालयका रजिष्ट्रार प्राडा अच्युत वाग्लेले यो सहकार्य सबैका लागि सुखद हुने बताए । ‘नेपालको चिकित्सा क्षेत्रमा झण्डै ५० प्रतिशत जनशक्ति काठमाडौं विश्वविद्यालयले उत्पादन गरेको छ, र यो जनशक्तिले नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरबाट पनि मान्यता पाएको छ,’ वाग्लेले भने । ‘नेपाल प्रहरी अस्पतालसँगहको अबको सहकार्य ऐतिहासिक हुनेछ ।’

नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरले काठमाडौं विश्वविद्यालय र नेपाल प्रहरी अस्पतालबीचको सहकार्य गौरवको विषय भएको बताए । ‘नेपाल प्रहरीको शैक्षिक सुधार एवं पाठ्यक्रम गुणस्तर वृद्धि, नेपाल प्रहरीका शिक्षकहरुको गुणस्तर र कार्य सम्पादनमा यसबाट सहयोग पुग्नेछ,’ कुँवरले भने । ‘यो सहकार्यले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजको रुपमा विस्तार गर्न, पोष्ट ग्राजुएट कक्षा शुरु गर्न र दुवै पक्षबीच रहेको ज्ञान, क्षमतालाई आपसी समझदारीमा विस्तार गर्दै जान मार्ग प्रशस्त भएको छ ।’

कार्यक्रममा विश्वविद्यालयका चिकित्सा शास्त्र सङ्कायका डीन प्रा डा मनेज हुमागाईं तथा नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक डा. आशा शिंहलगायत विश्वविद्यालयका विभिन्न सङ्कायका डीन, विभागीय प्रमुखहरु, तथा प्रहरीका उच्च अधिकारीको उपस्थिति थियो ।