NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

महाभारतमा डेढ बर्षसम्म सडक निर्माण अलपत्र

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्र (डाँडापारि) मा अवस्थित महाभारत गाउँपालिकाको तीनखुट्टे-देवीटार सडकखण्डको आठ दशमलव सात किलोमिटर सडकखण्ड निर्माण करिब डेढ वर्षदेखि अधुरो अवस्थामा छ ।

कालोपत्र गर्ने कार्य सम्झौता अवधि सकिएको १७ महिनासम्म सम्पन्न हुन नसक्दा स्थानीयले सदरमुकाम धुलिखेल आवतजावतमा निकै कठिनाइ भोग्नुपरेको छ ।   निर्माण व्यवसायीको लापरवाही तथा ढिलासुस्तीका कारण वर्षात्को समयमा चार महिनासम्म उक्त सडक अवरुद्ध बनेको स्थानीयले बताएका छन् ।

विसं २०७९ असार मसान्तसम्म अवधि रहेको उक्त सडकखण्ड निर्माणको ठेक्का लिएको श्रेष्ठ सक्षम जेभी कम्पनीलाई पटक-पटक मौखिक र लिखितरूपमा ताकेता गर्दा बेवास्ता गरेको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए । उनका अनुसार जिल्ला प्रशासन कार्यालय तथा पूर्वाधार विकास कार्यालयलाई पनि जानकारी गराइएको थियो ।

उक्त मङ्गलटर-चारकिल्ला-तीनखुट्टे-बनखु सडक आयोजनाको विसं २०७७ असोज २० गते बागमती प्रदेशका तत्कालीन मन्त्री रामेश्वर फुँयालले तीनखुट्टेमा शुभारम्भ गरेका थिए । सडक अभावमा विकट मानिएको महाभारत गाउँपालिकाको तीनखुट्टे-देवीटार सडकखण्ड स्तरोन्नतिसहित कालोपत्रका लागि रु ४९ करोड बजेट विनियोजन गरिएको थियो ।

म्याद सकिँदासम्म उक्त आयोजनाको ५० प्रतिशत निर्माण भएको छ । उक्त सडकखण्डमा सडक स्तरोन्नतिअन्तर्गत नाली निर्माण, रिटेनिङ वाल, ग्याविङ्ग वाल, कजवे, कल्भर्टलगायतका संरचनासँगै ३० एमएमको कालोपत्र गरिने योजना बनाइएको थियो ।

‘पक्की सडक निर्माण भएपछि महाभारत क्षेत्रको विकास र समृद्धिमा थप मद्दत पुग्ने अपेक्षा गरेका थियौँ’, अध्यक्ष जिम्बाले भने।