NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

अरनिको अन्तर्राष्ट्रिय पुरस्कार ‘लाहुरेको रेलिमाईलाई’

काठमाडौं । अरनिको अन्तर्राष्ट्रिय पुरस्कार २०७९ का लागि विजय हितानको उपन्यास लाहुरेको रेलिमाई सिफारिस भएको छ ।

गैरआवासीय नेपाली सङ्घको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार समितिले गैरआवासीय नेपाली साहित्यकारहरूद्वारा लेखिएका नेपाली भाषाका कृतिहरूमध्ये सर्वश्रेष्ठ एक कृतिलाई वि.सं. २०७७ सालदेखि प्रत्येक वर्ष २ लाख नगदराशी र सम्मानपत्रसहित अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गर्ने गरेको छ । यसै बमोजिम वि.सं २०७९ को पुरस्कारका लागि सो वर्षभरमा प्रकाशित विविध विधाका नेपाली वाङ्मयका कृतिहरूमध्ये बेलायतमा बसोबास गर्नुहुने साहित्यकार विजय हितानद्वारा लिखित उपन्यास लाहुरेको रेलिमाईलाई प्रदान गर्ने निर्णय गरेको छ । पहिलोपटक २०७७ सालमा यो पुरस्कार हरि अधिकारीको संकलित गद्य रचनालाई प्रदान गरिएको थियो । त्यसैगरी वर्ष २०७८ मा चेतनाथ आचार्यको उपन्यास रुइबालाई पुरस्कृत गरिएको थियो ।

गीत सङ्गीतकामार्फत नेपाली जातिको जागरणमा जीवनपर्यन्त लाग्नुभएका मास्टर मित्रसेन थापाको जीवनकथामा आधारित आख्यान लाहुरेको रेलिमाईले गायक थापाको दृष्टिविन्दुबाट प्रथम विश्वयुद्धको विदारक चित्रण प्रश्तुत गरेको छ । त्यससँगै उहाँको सङ्घर्षपूर्ण जीवन र उहाँ बाँचेको समाजका अनेक पाटाहरूलाई पनि यस उपन्यासले प्रभावशाली र प्रमाणिकरूपमा उद्घाटित गरेको छ।

पुरस्कृत कृति लाहुरेको रेलिमाईका लेखक विजय हितानलाई गैरआवासीय नेपाली सङ्घले एक बिशेष समारोहबीच नगद पुरस्कार र सम्मानपत्र सहित यो पुरस्कार प्रदान गर्नेछ ।

आज सम्पन्न सङ्घको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार व्यवस्थापन समितिको बैठकले छनौट समितिको उक्त सिफारिससँगै लाहुरेको रेलिमाईलाई वर्ष २०७९ को अरनिको अन्तर्राष्ट्रिय पुरस्कारका लागि अनुमोदन गरेको छ ।