२५ वर्षदेखि सरकारी भवन भारतीय नागरिकको कब्जामा !

काठमाडौं । पशु क्वारेन्टाइन कार्यालयको एक तल्ले चिटिक्कको भवन । सरकारी भवन भएकाले जो कोहीलाई लाग्न सक्छ, यहाँबाट आमनागरिकलाई सेवा प्रवाह भइरहेको होला ।
यदि तपाईं यस्तो सोच्चै हुनुहुन्छ भने त्यो शत प्रतिशत गलत हुनेछ । किनभने, वर्षौंदेखि यो सरकारी भवन निजी निवासका रूपमा प्रयोग भएको छ । त्यो पनि नेपाली होइन, भारतीय नागरिकबाट ।
नेपालगञ्जमा रहेको पशु क्वारेन्टाइन कार्यालय, बाँकेको भवन भारतीय नागरिकले यसरी निजी निवासका रूपमा मनमौजी प्रयोग गरेका हुन् । भवनमा रहेको कोठाहरूमा कुनैमा किचन छ त कुनैमा खाट, दराज राखेर सुत्ने बस्ने ठाउँ बनाइएको छ ।
सरकारी भवनमा बस्न उनीहरूले न त कतैबाट अनुमति लिएका छन् न त भाडाबापत रकम नै बुझाएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका–१५ को पिप्रहवास्थित होल्डिङयार्डभित्र रहेको एक तल्ले भवन अवैध रूपमा एक भारतीय परिवारले प्रयोग गरेको क्वारेन्टाइन कार्यालयका डा. विनय कुमार कर्णले बताए ।
आफ्नो भवन भारतीयले प्रयोग गरेपछि कार्यालयले त्यसलाई खाली गराउन विगतदेखि नै प्रयास गर्दै आएको थियो । तर सफल भएको थिएन ।
भवन खाली गर्न आफूहरूले मौखिक रूपमा गरेको आग्रहलाई पटक–पटक भारतीय नागरिकले बेवास्ता गरेको कार्यालय प्रमुख डा. विनय कुमार कर्णले बताए ।
भवन खाली गराउने प्रयास असफल भएपछि गत वर्षको फागुन ५ गते कर्णले जिल्ला प्रशासन कार्यालय, बाँकेमा लिखित निवेदन दिएका थिए । त्यसको लामो समयपछि गत साता प्रशासनले भवन खाली गर्न सातदिने अल्टिमेटम दिएको थियो । आफूहरूले दिएको अल्टिमेटमको एक दिनअघि शुक्रबार (हिजो) भवन खाली भएको जिल्ला प्रशासन कार्यालय, बाँकेले जनाएको छ ।
भारतीय परिवारले भवन खाली गरेसँगै पशु क्वारेन्टाइनले २५ वर्षपछि आफ्नो भवन फिर्ता पाएको छ । पशु क्वारेन्टाइन कार्यालय, बाँकेले शुक्रबार नै उक्त भवन जिम्मा लिएको छ । आफ्नो भवन प्राप्त भएकाले काम गर्न सहज हुने विश्वास क्वारेन्टाइन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया