बालकुमारी घटना छानबिनका लागि उच्चस्तरीय आयोग गठन हुने

काठमाडौं । सरकारले ललितपुरको बालकुमारीमा शुक्रबार घटेको घटनाको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आयोग गठनका लागि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आज सो निर्देशन दिएका हुन् । गृहमन्त्रालयले सोसम्बन्धी प्रस्ताव तयार पारेर मन्त्रिपरिषद्मा पेश गर्नेछ ।
सोमबार बिहान बस्ने मन्त्रिपरिषद्को बैठकले आयोग गठनसम्बन्धी औपचारिक निर्णय गर्ने भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए। जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा २ बमोजिम आयोग गठन हुने उनको भनाइ छ । आयोगले सोमबारदेखि नै काम गर्नेछ ।
मन्त्री ज्वालाले पूर्वन्यायाधीशको संयोजकत्वमा न्यायिक छानबिन आयोग गठन गर्ने जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्रीले आवश्यक निर्देशन दिइसक्नुभएको छ । भोलि बस्ने मन्त्रिपरिषद्को बैठकले यसबारेमा आवश्यक निर्णय गर्नेछ ।’
बालकुमारी घटनामा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो । साथै मन्त्री प्रकाश ज्वाला सवार सवारी साधनमा आगजनी भएको थियो ।
गृहमन्त्रालयले सोही दिन नै सो घटनाको छानबिनका लागि एक समिति गठन गरिसकेको छ । सरकारले शनिबार मात्रै ललितपुरका प्रहरी प्रमुख, ललितपुरका प्रमुख जिल्ला अधिकारी र इपिएस कोरिया शाखाका प्रमुखलाई छानबिन नसकिँदासम्मका लागि निलम्बन गरिसकेको छ ।
ताजा अपडेट
-
स्थानीय तहको राजस्व वृद्धिका चुनौती र सम्भावना: नीति निर्माण र समन्वय अभाव प्रमुख बाधक
-
बाँदरको समस्याको विकल्पमा कागुनोखेती
-
नारायणगढ–बुटवल सडकः तेस्रो पटकको म्याद सकिन लाग्दा प्रगति ६९ प्रतिशत मात्र
-
राष्ट्रिय सभामा विनियोजन विधेयकमाथि छलफल, दर्जनभन्दा बढी मन्त्रीले जवाफ दिँदै
-
चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने
प्रतिक्रिया