NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

कोशी प्रदेश स्तरीय भलिबल माघमा

भोजपुर । जिल्ला स्तरीय प्रतियोगिताहरु समेत कम भइरहेको अवस्थामा कोशी प्रदेश स्तरीय अन्तर पालिका भलिबल प्रतियोगिता भोजपुरमा हुने भएको छ । षडानन्द नगरपालिकाको केन्द्र दिङलामा प्रदेश स्तरीय भलिबल प्रतियोगिताको आयोजना हुन लागेको हो ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा प्रदेशका पालिकाहरुले सहभागिता जनाउन पाउने गरी प्रतियोगिताको आयोजना हुने जिल्ला खेलकुद विकास समिति भोजपुरका अध्यक्ष दावा शेर्पाले जानकारी दिनुभयो । प्रतियोगितामा प्रदेशभरिका एक सय ३७ पालिकाले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा विजेता हुने टोलीले एक लाख ५० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेता हुने टोलीले एक लाखको साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । यस्तै प्रतियोगितामा तेस्रो हुने टोलीले नगद ५० हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगिताअन्तर्गत उत्कृष्ट छ विधामा खेलाडीले पाँच हजार साथमा मेडल र प्रमाणपत्र पाउने जिल्ला खेलकुद विकास कार्यालय भोजपुरका सचिव ग्याल्जेन शेर्पाले बताए ।

आगामी माघ २४ देखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताले जिल्लाको खेलकुद पर्यटनमा समेत मद्दत पुग्नेछ । ‘सुन्दर प्रकृति र स्वर्गरुपी मेरो देश, खेलकुदमार्फत पर्यटनको सन्देश’ भन्ने मूल नाराका साथ हुने प्रतियोगितामा कोशी प्रदेशभरिका पालिकाहरुले नगद दुई हजार पाँच सय तिरेर टोली दर्ता गर्न पाउने अध्यक्ष शेर्पाले बताए ।

भलिबलका उत्कृष्ट खेलाडीहरु उत्पादन गरेको भोजपुरमा पछिल्लो समयमा कम हुँदै गएको प्रतियोगिताले खेलाडीहरुमा उत्साहसमेत हराएकाले प्रदेश स्तरीय प्रतियोगिता नै आयोजना गर्नुपर्ने आवश्यकता भएको समितिका उनको भनाइ रहेको छ । “खेलकुद क्षेत्रको विकासका लागि समितिले काम गरिरहेको छ, खेलकुद क्षेत्रका लागि परिचित जिल्लाका रुपमा भोजपुरलाई चिनाउने गरी काम गर्ने छौँ,” अध्यक्ष शेर्पाले भने ।

‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारालाई पूर्ण सार्थकता दिनका लागि खेलकुद अपरिहार्य भएको जिल्ला खेलकुद विकास कार्यालयका सचिव शेर्पाले बताउनुभयो । खेल बिनामानिस अधुरो हुन्छ भने खेलले स्वस्थ्यलाई सुधार्ने काम गर्छ र मानिस पूर्णरुपमा स्वास्थ्य हुन्छ भन्ने कुरामा पनि हामीले ध्यान दिएका छौँ”, उनले भने ।