NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

चिसो बढ्न थालेपछि कैदीबन्दीलाई न्यानो कपडा वितरण

चितवन । चिसो बढ्दै गएपछि कारागार कार्यालय चितवनले कैदीबन्दीलाई न्यानो कपडा वितरण गरेको छ । कार्यालयमा रहेका सात सय २३ कैदीबन्दी र उनीहरुसँग आश्रित चार बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो ।

कार्यालयका प्रमुख कमलप्रसाद आचार्यका अनुसार जाडो समयमा सिरक, डसना र लगाउने न्यानो कपडाको व्यवस्था गरिएको हो । यस्तै चिसोले समस्या नहोस् भनेर आगो ताप्न दाउराको व्यवस्था गरिएको उनले बताए। कार्यालयले महिला कैदीबन्दीहरुलाई आगो ताप्नका लागि दाउराको व्यवस्थापन गरेको जनाएको छ । महिला कैदीबन्दीसँग चार नाबालक रहेकाले उनीहरुलाई लक्षित गर्दै दाउराको व्यवस्था गरिएको हो ।

यस कार्यालयमा अहिले ४२ महिला र छ सय ६१ पुरुष कैदीबन्दी रहेका आचार्यले जानकारी दिए । उनका अनुसार अहिले यस कार्यालयमा क्षमताभन्दा झन्डै दुई सय बढी कैदीबन्दी रहेका छन् । चार सय ७५ पुरुषको र ३० जना महिलाको क्षमता रहेको आचार्यले बताए । यहाँ छिमेकी जिल्ला नवलपुर (नवलपरासी–बर्दघाट सुस्ता पूर्व) बाट समेत कैदीबन्दी ल्याउने गरिएको उनको भनाइ थियो ।