NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

‘गंगा आरतीको भिडिओ खिच्न नपाइने’ भनी जारी सूचनामा पशुपति क्षेत्र विकास कोषको आपत्ति

काठमाडौं । पशुपतिनाथ मन्दिर परिस र सन्ध्या आरतीमा फोटो र भिडियो खिच्ने नपाइने भनी प्रकाशित सूचनाको चौतर्फी आलोचना पछि पशुपति क्षेत्र विकास कोषले प्रस्टीकरण दिएको छ ।

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न मनाही भएको भनी जारी भएको सूचनामा कोषको संलग्नता नभएको बताएको छ।

बुढासुब्बा डिजिटलले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न मनाही छ भन्दै सूचनापाटी राखेको थियो । साथै उक्त कम्पनीले त्यहाँ खिचिएका भिडियो सामग्री फेसबुक, इन्स्टाग्राम, टिकटक तथा युट्युबमा व्यावसायिक प्रयोजनका लागि राखिएको थाहा भएमा डिजिटल कपिराइट ऐन अन्तर्गत कारबाही हुने चेतावनी पनि दिएको थियो ।

आज पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्ले सूचना जारी गर्दै त्यसरी निकालिएको सूचनामा कोषको नाम र लोगो प्रयोग भएकोमा आपत्ति जनाएको छ ।

सूचनामा भनिएको छ, ‘लोगो प्रयोग गरी कोषको नाम समेत राखी सूचना प्रकाशित भएकोमा कोषको असहमति रहेको छ । उक्त सूचना प्रकाशित प्रति कोषको कुनै पनि संलग्नता नरहेको व्यहोरा यसै सूचनाद्वारा जानकारी गराउँदछौँ।’

कोषका प्रशासन प्रमुख रेवतीरमण अधिकारीले भक्तजनलाई फोटो र भिडियो खिच्न रोक नलगाइएको दाबी गरे । उनले मन्दिरभित्रै भिडियो र फोटो खिचेको सार्वजनिक भएपछि त्यसलाई नियमन र नियन्त्रण गर्न मात्रै ठेक्का दिएको बताए ।