NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

त्रिविको उपकुलपति नियुक्ति प्रक्रिया रद्द

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले थालेको उपकुलपति नियुक्ति प्रक्रिया रद्द भएको छ ।

त्रिविको उपकुलपति छनोटका लागि गत शुक्रबार प्रकाशित विज्ञापन विवादित बनेपछि त्रिवि उपकुलपति छनोट तथा सिफारिस समितिले प्रक्रिया रद्द गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको मेरिटोक्रेसीका आधारमा त्रिविको कुलपति नियुक्ति गर्ने प्रतिबद्धताविपरीत प्रतिस्पर्धालाई संकुचित हुने गरी आवेदन आह्वान गरिएपछि त्यससँग जोडेर आलोचना भएको थियो । लगत्तै प्रधानमन्त्री दाहालले उक्त विज्ञापन रद्द गरेर नयाँ प्रक्रिया थाल्न निर्देशन दिएकोमा समितिले सोहीअनुरूप निर्णय लिएको हो ।

त्रिवि उपकुलपति छनोट तथा सिफारिस समितिले आइतबार सूचना जारी गर्दै शनिबारको निर्णयअनुसार उपकुलपति नियुक्तिको यसअघि थालिएको प्रक्रिया रद्द गरिएको जनाएको छ । नयाँ प्रक्रिया कहिले सुरु हुन्छ भन्नेबारे भने सूचनामा केही उल्लेख छैन ।

यसअघिका उपकुलपतिको कार्यकाल समाप्त भएको लामो समय गुज्रिसक्दा पनि सो पदमा नयाँ नियुक्ति हुन सकेको छैन । राजनीतिक भागबण्डाले विश्वविद्यालय थिलोथिलो बनेकाले त्यसलाई तोडेर योग्यता र क्षमताका आधारमा उपकुलपति नियुक्ति हुनुपर्ने आवाज चौतर्फी उठिरहेको छ ।