विवादपछि त्रिविको उपकुलपतिमा दोस्रो पटक दरखास्त आह्वान

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दोस्रो पटक दरखास्त आह्वान भएको छ ।
उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज सूचना जारी गर्दै दोस्रो पटक दरखास्त आह्वान गरेको हो ।
समितिको आइतबार बसेको बैठकले उपकुलपति छनोटसम्बन्धी कार्यविधि परिमार्जन गरेपछि दरखास्त आह्वान गर्ने निर्णय गरेको हो । यसअघि प्रकाशित भएको दरखास्त आह्वानको सूचना रद्ध गरेर समितिले पुन: नयाँ सूचना जारी गरेको हो ।
समितिले यसअघि पहिलो पटक पुस २० गते दरखास्त आह्वान गरेको थियो । उक्त सूचनामा उपकुलपतिका लागि दरखास्त दिने व्यक्तिका लागि विभिन्न छ वटा मापदण्ड तोकिएको थियो ।
ती मापदण्डमध्ये विश्वविद्यालयको पदाधिकारीमा न्यूनतम तीन वर्ष काम गरेको बेहोरा खुलाउनुपर्ने विषयसमेत समेटिएपछि प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उक्त व्यवस्था शंसोधन गर्न निर्देशन दिएका थिए । प्रावधानबारे विवाद भएपछि आइतबार उक्त दरखास्त रद्द भएको सूचना जारी गरिएको थियो ।
नयाँ सूचनामा कस्ता व्यक्तिले उपकुलपतिका लागि दरखास्त दिन पाउने छन् भन्ने विषयमा समितिले केही पनि खुलाएको छैन । तर, ‘छनोट तथा सिफारिससम्बन्धी कार्यविधि-२०८० बमोजिम उपकुलपतिको पदमा दरखास्त दिन इच्छुक र योग्य व्यक्तिबाट दरखास्त आह्वान गरिएको छ’ भनिएको छ ।
प्रतिक्रिया