बुटवलमा सार्वजनिक स्थलका घरटहरा हटाउन थालियो
लुम्बिनी । बुटवल उपमहानगरपालिकाले सार्वजनिक स्थलमा निर्माण भएका घरटहरा हटाउन सुरुआत गरेको छ ।
सार्वजनिकस्थल अतिक्रमण गरी संरचना बनाएका ठाउँ खाली गरेर विश्रामस्थल, उद्यान र चौतारी निर्माण गर्ने उद्देश्यले सार्वजनिकस्थलमा निर्माण भएका घरटहरा हटाउन थालिएको उपमहानगरपालिकाले जनाएको छ । अतिक्रमित क्षेत्र हटाउने कार्यक्रमअन्तर्गत आइतबार वडा नं ५ हाटबजार लाइनका तीन र नेपालगञ्ज रोडको एक टहरा भत्काइएको छ ।
सार्वजनिकस्थलमा निर्माण भएका टहरा हटाउन पटक–पटक पत्राचार गरे पनि स्वःस्फुर्त टहरा नहटाएपछि इलाका प्रहरी कार्यालय बुटवल, नगरप्रहरी, भूमि शाखा र स्थानीयको सहयोगमा ती टहरा हटाएको बुटवल उपमहानगरपालिका– ५ का अध्यक्ष हरिप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार हाटबजार लाइनमा टहरा हटाएका सडक क्षेत्रबाहेकको क्षेत्रको स्थलमा उजिरसिंह फल्चा, रामापिथेकस उद्यान निर्माण गरिनेछ ।
यस्तै नेपालगञ्ज रोडमा सार्वजनिकस्थल र सडक क्षेत्रमा पर्ने वडा नं ५ का बाँकी टहरा हटाउन बुटवल उपमहानगरपालिकाले पत्राचार गरिसकेको र केही दिनभित्रै ती टहरा हटाउने तयारी रहेको उनले बताए । यस्तै वडा नं ६ र अरु वडामा पनि सार्वजनिकस्थलको संरक्षण गर्दै उद्यान र चौतारी निर्माण गर्ने अभियान बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको छ ।
बुटवललाई उपयुक्त विश्रामस्थलका रुपमा विकास गर्नका लागि पर्यटकीयस्थल, उद्यान, चौतारी, सार्वजनिक शौचालय र पिउने पानीको व्यवस्था गर्ने गरी चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेको नगर प्रमुख खेलराज पाण्डेयले बताए । उनका अनुसार चालु आवमा केही स्थानमा मोडेलका रुपमा केही चौतारी निर्माण गरिनेछ र आगामी आवमा बुटवलका सबैजसो वडामा उद्यान र चौतारी निर्माण गरिनेछ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया