NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते
राष्ट्रियसभा निर्वाचन :

कोशीमा कांग्रेसबाट सिटौला र माओवादीबाट कार्कीको उम्मेदवारी दर्ता

काठमाडौं । माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि कोशी प्रदेशमा कांग्रेस र माओवादीका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

कांग्रेसका कृष्णप्रसाद सिटौला र माओवादीकी चम्पा कार्कीले प्रदेश निर्वाचन कार्यालयमा गएर उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।

सिटौलाको उम्मेदवारी निवेदनमा प्रदीप सुनुवार प्रस्तावक र हिमाल कार्की समर्थक रहेका छन् । सत्तागठबन्धनमा रहेका दलहरूबीचको सहमतिका आधारमा कोशीमा रिक्त हुने दुईमध्ये कांग्रेस र माओवादीले एक–एक सिट पाएका छन् ।

उम्मेदवारी दर्ता गराएपछि पत्रकाहरुसँग कुरा गर्दै सिटौलाले भने, ‘राष्ट्रियसभामा पुगेपछि राष्ट्र सामु उपस्थित चुनौतीको सामना गर्न र जनताको हितमा काम गर्न साझा दृष्टिकोणका साथ पार्लियामेन्ट अगाडि जानुपर्छ भन्ने मेरो मान्यता हो । मलाई मेरो पार्टीले पनि त्यही भूमिका निर्वाह गर्न सक्छ भनेर नै उम्मेदवार बनाएको हो ।’

आफू राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएको खण्डमा राष्ट्रका चुनौती सामना गर्न र जनताको हितमा काम गर्न सबै दलहरुको समझदारी निर्माण गर्न पहल गर्ने उनले बताए ।