NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

मेलम्चीको पानी पुन: वितरण गर्दै प्रधानमन्त्रीले दिए नियमित उपलब्ध गराउने वचन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं उपत्यकावासीलाई मेलम्चीको पानी नियमितरुपमा उपलब्ध गराइने बताएका छन् ।

सिंहदरबारमा आज आयोजित मेलम्ची खानेपानीको पथान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले दिगोरुपमा खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत रहेको बताए ।

प्रधानमन्त्री दाहालले खानेपानीको दिगो व्यवस्थापनका लागि दोस्रो चरणको याङ्ग्री तथा लार्के नदी डाइभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइने उल्लेख गरे। काठमाडौं उपत्यकाको जनसङ्ख्याको चापलाई ध्यानमा राखेर खानेपानीको बढ्दो माग र आपूर्ति पूरा गर्नुपर्नेमा उनले जोड दिए ।

“काठमाडौँ उपत्यकाको बढ्दो जनसङ्ख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत छ । मेलम्ची खानेपानी आयोजनाको हेडबक्सको निर्माणको कार्य यथाशीघ्र सम्पन्न गरी दोस्रो चरणको याङ्ग्री तथा लार्के नदी डाइभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइनेछ”, प्रधानमन्त्री दाहालले भने ।

आयोजनाको दीर्घकालीन समस्या समाधानका लागि विस्तृत अध्ययन तथा ठोस कार्ययोजना बनाई पुनःनिर्माण कार्य कार्यान्वयन गरिने तथा हाल प्रयोग हुँदै आएको वैकल्पिक प्रणालीलाई पनि बाह्रैमास सञ्चालन गर्ने गरी व्यवस्था मिलाउन प्रधानमन्त्री दाहालले सम्बन्धित पदाधिकारीलाई निर्देशन दिए। उपत्यकाभित्र खानेपानी वितरणको कार्य नयाँ वितरण सञ्जालमार्फत समानुपातिक, सुरक्षित तथा तोकिएको परिमाणको खानेपानी सेवा २४ सैँ घण्टा उपभोक्ता सदस्यको धारामा वितरण गर्ने व्यवस्था मिलाउनसमेत उनले निर्देशन दिए ।

“सुन्दरीजलमा थप क्षमताको पानी प्रशोधन केन्द्र तथा काठमाडौं उपत्यकामा नयाँ वितरण प्रणाली र फोहर पानी प्रशोधन प्रणालीसमेत विकास गरिनेछ”, प्रधानमन्त्री दाहालले भने । सिएमसी कम्पनीले बीचमै काम छोडेर जाँदा बाँकी रहेको दायित्व कसरी भुक्तानी गर्ने भन्ने विषयमा डा दिलबहादुर गुरुङको संयोजकत्वमा गठित समितिको प्रतिवेदनका आधारमा उचित निर्णय लिइने उनले बताए ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले मेलम्ची खानेपानीको आज पुनः वितरण सुरू गरेका हुन् । सिंहदरबारस्थित आफ्नो कार्यलय परिसरमा रहेको धारा खोलेर मेलम्ची खानेपानीको पुनःवितरण सुरू गरेका हुन्।

कार्यक्रममा खानेपानी मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा काठमाडौंबाट निर्वाचित जनप्रतिधिहरूको समेत उपस्थिति थियो।