NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १९ गते

के हो एसआइपी ? यस्ता छन् एसआइपीमा लगानी गर्दाका फाइदा

काठमाडाैं । वचत गर्ने बानी छ ? या चाहेर पनि वचत गर्न सकिरहनुभएको छैन ? धेरै जनाले आम्दानीभन्दा बढी खर्च हुने भएकाले वचत गर्न नसकेको गुनासो राखिरहेका हुन्छन् । तर के वचत गर्नै नसक्ने हो ? अवस्य हैन, हामी हाम्रो आम्दानीबाट थोरै रकम छुट्याएर वचत गर्न सक्छौँ, यसका लागि हाम्रो आम्दानीको स्रोत ठूलो हुनुपर्छ भन्ने छैन ।

आज वचत गर्न सकियो भने भोलि भरीपरी आउने समस्या समाधान गर्न सजिलो हुन्छ । आजको हजार लगानी भोलिको हजारौँ हजार हुन्छ । वचत गर्दा हामीले राम्रो प्रतिफल दिन सक्ने ठाउँमा लगानी गर्नुपर्छ । यसको लागि एसआइपी एक उपयुक्त ठाउँ हुनसक्छ । एसआइपी पैसा बचत गर्ने उत्तम तरिका हो, यसले लगानीकर्तामा कुनै बोझ थोपर्दैन । आफ्नो आम्दानी अनुसार लगानी गरेर राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ ।

धेरैलाई एसआइपीबारे जानकारी नहुन सक्छ । एसआइपी (सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान) जुन एक खुलामुखी लगानी योजना हो । जहाँ हामीले थोरै मात्रामा लगानी गर्न सकिन्छ । यो योजनामार्फत म्युचुअल फण्डमा सजिलै लगानी गर्न सकिन्छ । यदि कसैको मासिक आम्दानी कम छ भनेपनि यसमा लगानी गर्न सक्षम हुनेछ । एसआइपीमा लगानी जति पनि समयको लागि गर्न सकिन्छ । तर यो लामो समयसम्म गर्दा राम्रो लाभांश पाउने भएकाले वचतकर्ताले सर्टटमको लागि भन्दा दिर्घकालिन गर्दा फाइदा हुने जानकारहरु बताउँछन् ।  यस योजनाअन्तर्गत मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक रूपमा लगानी गर्न सकिन्छ । लगानीकर्ताले न्युनतम एक हजारदेखि लगानी गर्न सक्छन् ।

एसआइपीको पूरा रूप सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान अर्थात व्यवस्थित लगानी योजना हो । उदाहरणका लागि कुनै कम्पनीको म्युचुअल फण्डको एनएभी १०० रुपैयाँ छ, यस फण्डमा १० हजार रुपैयाँ लगानी गरेमा लगानीकर्ताले सो कम्पनीको १०० युनिट पाउनेछन् । यसलाई एक वर्षसम्म होल्ड गरेर एनभीको बजार मूल्य २०० रुपैयाँ पुगेपछि कोष बेचेर १० हजार रुपैयाँ नाफा कमाउन सकिन्छ ।

के हो एनएभी ?

एनएभी NAV को पूरा नाम नेट एसेट भ्यालु हो । म्युचुअल फण्डमा लगानी एनएभी अनुसार, जब तपाई एसआइपीमार्फत म्युचुअल फण्डमा लगानी गर्नुहुन्छ, म्युचुअल फण्डको एक एकाइको मूल्य सम्पत्ति मूल्य अनुसार निर्धारण गरिन्छ ।

एसआइपी कसरी गर्ने, के के डकुमेन्ट चाहिन्छ ?

एसआइपीमा लगानी गर्न इन्टरनेटमा धेरै प्लेटफर्महरू छन् । लगानीका लागि कतै जानु पर्दैन । अनलाइन आवेदनमार्फत वा वेबसाइटमार्फत खाता सिर्जना गरेर लगानी गर्न सकिन्छ ।

एसआइपी गर्नको लागि केही कागजातहरु आवश्यक पर्छ । जन्म मिति, नाम, इमेल आईडी, मोबाइल नम्बर, ठेगाना प्रमाण, मेरो सेयरको बिओआइडी नम्बरलगायत विवरण एसआइपी आवेदनको क्रममा आवश्यक पर्छ ।

एसआइपीमा जोखिम छ ?

जुनसकै कुरामा फाइदाका साथसाथै केही जोखिम हुन्छ, त्यसैले एसआइपीमा पनि केही जोखिम हुने सम्भावना हुन्छ । एसएआइपी सानो फण्डबाट सुरु गर्न सकिन्छ, त्यसले गर्दा उच्च जोखिमको सम्भावना पूर्ण रूपमा समाप्त हुन्छ । एसआइपी गर्दा कम्पनी छनोटमा ध्यान दिएन भने घाटा व्योहोर्नुपर्ने हुन्छ । जस्तो घाटा भइरहेको र नाफा कमाउन नसक्ने कम्पनीको एसआइपीमा लगानी गर्नुभयो भने पैसा गुम्ने सम्भावना बढ्छ । एसआइपीमा छोटो अवधिको लागि लगानी गरेमा घाटा हुन सक्छ । लामो समयसम्म लगानी गर्दा घाटा हुने सम्भावना कम हुन्छ । कम्पनीमा अचानक संकट आयो भने घाटा बेहोर्न सक्छ ।

एसआइपीमा लगानी गर्दा फाइदा

एसआइपीमा लगानी गर्नुका धेरै फाइदाहरू छन् । पहिलो फाइदा भनेकै तपाईँको केही रकम बचत भइरहन्छ । वचत मात्रै हुँदैन तपाईँले वचतमार्फत रिर्टनसमेत पाउनुहुन्छ । एसआइपीमा तपाईले हरेक महिना पैसा तिर्नुपर्छ भन्ने बोझ छैन, तपाईँले वार्षिक रुपमा पनि बुझाउन सक्नुहुन्छ । जोखिम लिन डराउनेहरूका लागि यो राम्रो विकल्प हो ।

यदि बजारमा प्रतिफल बढ्दै छ भने तपाईले एसआइपीमा मा लगानी बढाउन सक्नुहुन्छ । तपाइँले बीचमा एसआइपी रोक्न पनि सक्नुहुनछ ।