NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

टाइगर कप राष्ट्रिय भलिबल : एपिएफ र न्यू डायमण्ड फाइनलमा

कास्की । सशस्त्र प्रहरीको एपिएफ र चन्द्रागिरि न्यू डायमण्ड पोखरामा जारी चौथो संस्करणको ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित महिला तथा पुरुष खुला भलिबल’ प्रतियोगिताको महिलातर्फ फाइनलमा प्रवेश गरेका छन् ।

पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा आज सम्पन्न सेमिफाइनलको खेलमा साविक विजेता एपिएफले अर्को विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३-२ को सेटमा पराजित गरी उपाधि नजिक पुगेको हो । एपिएफले हालसम्म दुई पटक उपाधि हासिल गरिसकेको छ ।

एपिएफले पहिलो दुई सेट १९-२५ र २०-२५ ले नेपाल आर्मीलाई सुम्पिए पनि पछिल्ला तीन सेट लगातार आफ्नो पक्षमा पार्न सफल भयो । एपिएफले २५-१३, २५-१६ र १५-१३ ले नतिजा आफ्नो पक्षमा पार्दै फाइनलको यात्रा तय गर्न सफल भयो ।

यसैगरी दोस्रो सेमिफाइलनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई सोझो ३–० को सेटमा पराजित गर्दै न्यू डायमण्डले फाइनलमा स्थान बनाउन सफल भयो । न्यू डायमण्डले २५-१९, २५-१८ र २५-१८ ले नतिजा आफ्नो पक्षमा पार्दै एपिएफसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

यसैगरी पुरुषतर्फ साविक विजेता घरेलु टोली गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गर्न सफल भयो । लिगको आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेश विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग ३-२ सेटले पराजित भए पनि सेमिफाइलन पुग्न सफल भयो ।

गत माघ १ गते खराब प्रकाशका कारण रोकिएको उद्घाटन खेल आज सञ्चालन भएको हो । खेलमा पहिलो सेट २५–२० ले आर्मीले जितेको थियो । दोस्रो र तेस्रो सेट गण्डकीले २०-२५ र १७-२५ ले आफ्नो पक्षमा पार्न सफल भयो । चौथो र पाँचौ सेट २५-२१ र १५-६ ले आर्मीले जितेपनि प्रतियोगिताबाट बाहिरियो ।

गण्डकीले सेमिफाइनलमा समूह बीको विजेता सशस्त्र प्रहरीको एपिएफ क्लबको सामना गर्नेछ । लिगमा हेल्प नेपाल स्पोर्टस क्लबलाई गण्डकीले ३-२ को सेटमा हराएको थियो । हेल्प नेपालले आर्मीलाई सोझो सेटमा हराएको थियो । समूह बीबाट एपिएफ विजेता र श्रीलङ्का आर्मी टिम उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरिसकेको छ । शुक्रबार पुरुषतर्फ सेमिफाइलनका खेल हुनेछन् ।

पुरुषतर्फ हेल्प नेपाल र श्रीलङ्का आर्मी तथा दोस्रो खेल एपिएफ र गण्डकीकाबीच हुनेछ प्रतियोगिता संयोजक दीपक कार्कीले जानकारी दिनुभयो । महिलातर्फ तृतीय स्थानका लागि त्रिभुवन आर्मी क्लबले अर्को विभागीय टोली नेपाल पुलिसको सामना गर्नेछ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा यही माघ १ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल माघ ६ गते हुनेछ ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टोलीले नगद रु पाँच लाख ५५ हजार पाँच सय ५५ र उपविजेता टिमले समान नगद रु दुई लाख ५५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त गर्ने टाइगर ग्रुपका अध्यक्ष नारायण शर्माले जानकारी दिए ।

यसैगरी तृतीय हुने टोलीले रु एक लाख २५ हजार पाँच सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद रु २५ हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् ।