NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

तत्काल पानी पर्ने सम्भावना छैन : मौसमविद्

काठमाडौं । पश्चिमी वायुको प्रभावले केही दिनयता मौसममा बदली देखिएको छ । तर यही मौसमी प्रणालीका कारण तत्काल वर्षा हुने सम्भावना नदेखिएको मौसमविद्ले जनाएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी बिहीबारसम्म वर्षा हुने कुनै सम्भावना छैन । आगामी तीन दिन तराईमा हुस्सु तथा कुहिरो र उच्च पहाडी भूभागमा हल्का हिमपात हुनसक्ने भए पनि वर्षाकै योग नरहेको महाशाखाद्वारा मंगलबार जारी बुलेटिनमा उल्लेख छ ।

महाशाखाले यस वर्ष हिउँदमा औसतभन्दा बढी वर्षा हुने आकलन गरेको थियो । तर यो याममा  छिटफुटबाहेक वर्षा नै भएको छैन ।

अनुमान नमिलेकाले यसमाथि समीक्षा चलिरहेको मौसमविद्को भनाइ छ ।

मौसमविदका अनुसार अहिले पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम सामान्यतया सफा छ । तराईका अधिकांश भागमा भने अहिले हुस्सु र कुहिरो लागेको छ । बाक्लोसँग हुस्सु र कुहिरो लाग्दा तराईको जनजीवन प्रभावित बनेको छ ।

हुस्सु र कुहिरोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भन्दै महाशाखाले त्यसबाट हुन सक्ने असरबाट बच्न सबैमा आग्रह गरेको छ ।