NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

एमालेले प्रधानमन्त्रीलाई बुझायो ध्यानाकर्षणपत्र

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ७५१ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

नेकपा एमालेले गत मंसिर १४ देखि पुस १ गतेसम्म देशभर संकल्प यात्रा गरेको थियो । त्यसक्रममा आमनागरिकबाट प्राप्त गरेको सुझावलाई एमालेले ध्यानाकर्षणपत्रमा समेटेर प्रधानमन्त्रीलाई बुझाएको हो ।

ध्यानाकर्षापत्रमा ४६ क्षेत्रसँग सम्बन्धित ७५१ माग तथा सुझाव छन् ।

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री प्रचण्डबाट ध्यानाकर्षणपत्र कार्यान्वयनका लागि पहल लिने प्रतिबद्धतता व्यक्त भएको जानकारी दिए ।

‘ध्यानाकर्षणपत्रमा उल्लिखित सुझाव तथा माग दराजमा थन्किन नपाउने र कार्यान्वयनका निम्ति सम्बन्धित निकायलाई ताकेता गर्ने प्रधानमन्त्रीज्यूले प्रतिबद्धता जनाउनुभएको छ,’ प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै नेता ज्ञवालीले भने ।